विराटनगर । देवकोटास्थित पुरानो जिल्ला विकास समिति, अर्थात जिल्ला समन्वय समितिको कार्यालय कोशी प्रदेशसभामा रुपान्तरण भएपछि गत भदौमा जेनजी आन्दोलनसँगै जलेर ध्वस्तभयो । संघीयतापछि प्रादेशिक संरचनामा रुपान्तरण भएर प्रदेशसभा सचिवालय तथा प्रदेशसभा सञ्चालन भइरहेको उक्त भवन ध्वस्त भएको छ । त्यसपछि प्रदेशसभा सञ्चालनमा छैन । तर, छैठपछिका लागि प्रदेशसभा सञ्चालन गर्नुपर्ने हुँदा तयार संरचना अभाव छ ।
यो अभावलाई टार्नका लागि कोशी प्रदेशसभा सभामुख अम्बरबहादुर बिष्टको अध्यक्षताको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रदेशसभा सञ्चालनका लागि वीरेन्द्र सभागृह उपयुक्त हुने निश्कर्ष निकालेर छलफल थालेको छ । कोशी प्रदेशसभा र प्रदेशसभा सचिवालयलाई विराटनगर महानगरपालिका माहतहतको वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने तयारी थालिएको हो ।
यद्यपी यसको औपचारिक प्रक्रिया भने बढेको छैन । तर, प्रदेशसभा सञ्चालनका लागि एक चरणको प्रस्ताव विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासम्म आइसकेको छ । प्रदेशसभा सञ्चालन तथा व्यवस्थापन समितिले सभागृह र मोरङकै कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवन अवलोकन गरेको थियो । त्यसक्रममा सभागृह उपयुक्त ठहर गरेको हो । प्रदेश सरकारसँग सभागृहमा प्रदेशसभा सञ्चालन उपयुक्त हुने विषयमा जानकारी गराइसकिएको छ । प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले प्रदेश सरकारलाई सभागृह सञ्चालनका लागि पत्राचार गरिएको र महानगरपालिकासँग सभागृहमा प्रदेशसभा सञ्चालन गर्न दिनका लागि प्रस्ताव राखिएको जानकारी दिएका छन् । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले प्रदेशसभा सञ्चालन गर्ने औपचारिक प्रक्रिया नबढेपछि प्रस्ताव आएको कुरा आफ्नो जानकारीमा रहेको बताए । महानगरपालिकाले नगर विकास कोष र आन्तरिक स्रोतबाट २० करोड खर्चेर सभागृह प्रवलीकरण गरेपछि यो आकर्षक बनेको छ ।
संयोगले यो सभागृह जेनजी युवाहरूले आगजनी हुनबाट जोगाएको संरचना हो । सामुदायिक भवनको संरक्षण गर्नुपर्ने भन्दै केहि युवाले यसलाई आन्दोलनका क्रममा जोगाएका थिए । विराटनगर महानगरपालिकाले यसको ठेक्का व्यवस्थापन गरेर सञ्चालन गर्ने तयारी गर्दै आएको छ । यद्यपी अहिलेसम्म निजी क्षेत्रले लिइसकेका छैनन् । प्रदेशसभा सञ्चालन हुने अवस्था आएमा महानगरपालिकालाई अझै सहज हुने अनुमान गरिएको छ ।
महानगरपालिकाले वार्षिक एक करोड २५ लाख रुपैँया भाडा प्राप्त गर्ने अनुमान गरेको छ । पुनर्निर्माणपछि कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन यही सभागृहमा सम्पन्न गरेको छ । त्यस्तै न्यूरो अस्पतालले पनि एक दिनका लागि यो सभागृह भाडामा लिएर कार्यक्रम सम्पन्न गरेको छ ।