विराटनगर । गत भदौ २४ गते सुनसरीको झुम्का कारागार र सिन्धुली कारागारबाट भागेका दुईजना कैदी मोरङमा पक्राउ परेका छन् । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीया अभिषेक जैसवाल विराटनगर महानगरपालिका १६ दरैयामा स्कुटर चोरी गरेर भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार जैसवाल कागजात बिनाको स्कुटरमा रहेका बखत इलाका प्रहरी कार्यालय रानीले सोधपुछ गर्ने क्रममा झुम्का कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका खुल्न आएको थियो ।
नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा जैसवालले विराटनगर महानगरपालिका–१ नेताचौकबाट स्कुटर चोरी गरेर ल्याएको खुलेको प्रवक्ता चुँडालले जानकारी दिइन् । प्रहरीले जैसवाललाई बुधबार राती १०ः ३० बजे पक्राउ गरेको थियो ।
यसैगरी सिन्धुली कारागारमा जर्बरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकिएर भुक्तान गरिरहेका मोरङ धनपालथान गाउँपालिका–३ का ३९ वर्षीय उपेन मण्डललाई आफ्नै घरबाट पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले विशेष सूचनाका आधारमा घरमै बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो । मण्डल पनि गत भदौ २४ गते कारागारबाट भागेका कैदी हुन् । मण्डललाई बिहीबार नियन्त्रणमा लिइएको हो । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता चुँडालले जानकारी दिइन् ।