विराटनगर । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन विध्वंसमा परिणत हुँदा क्षति पुगेका संरचना तथा वस्तुको क्षतिपूर्ति वापत बिमा २१७ वटा दावी परेका छन् । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रतिनिधि प्रिति देवका अनुसार हालसम्म क्षतिपूर्ति दाबीको कुल रकम ८७ करोड २४ लाख पुगेको हो । हालसम्म बीमा कम्पनीहरूले ९ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेको उनले जानकारी दिएकी हुन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा मात्रै प्रदर्शनका क्रममा करोडौंको भौतिक तथा सेवाको क्षति भएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङको संयोजनमा बिहीबार जेन–जी घटनाबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय आयोगका सदस्य विज्ञानराज शर्माको उपस्थितिमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफल कार्यक्रममा जिल्लामा ठूलो आर्थिक नोक्सानी भएको बताइएको थियो । प्रदर्शनपछिको आगजनीको कारण सेवा प्रवाहमा आएको अवरोध, ऐतिहासिक कागजातको क्षति र सरकारी संयन्त्रमा उत्पन्न भएका नीतिगत तथा मनोवल सम्बन्धी चुनौती रहेको जनाइएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम०का प्रतिनिधिका अनुसार मोरङ जिल्लामा मात्र ४ करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका थिए । कार्यालयमा रहेका दुईवटा मोटर, दुईवटा मोटरसाइकल जलाएका थिए भने भौतिक संरचना सिसा फुटाएको र ल्यापटप, कुर्सी चोरी गरेका थिए । सडकमा राखिएका क्याबिनेट बक्स तथा अन्डरग्राउन्ड इन्फ्रास्ट्रक्चरमा समेत क्षति पुगेको बताइएको छ । जेन–जी घटनाबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय आयोगका सदस्य विज्ञानराज शर्माले प्रदर्शनका क्रममा भएका घटनाका कारण सुरक्षा निकायहरूको मनोबल घटेको बताए ।