विराटनगर । स्रोत नखुलेको साढे ८ लाख नेपाली रूपैयाँ सहित विराटनगरबाट एक पुरुष पक्राउ परेका छन् । शनिबार दिउँसो विराटनगर १३ स्थित शैनिक टोलबाट उक्त रकम सहित ती व्यक्तिलाई रानी प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ भी ३३२८ नम्बरको मोटरसाइकललाई प्रहरीले शंका लागेर रोकेको थियो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा चालक मोरङको जहदा गाउँपालिका–७ का ४६ वर्षीय नवीन साहले लगाएको हेल्मेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा रकम बरामद भएको जानकारी कटवालले दिए । उनका अनुसार साहले लगाएको हेल्मेटबाट १ हजार दरका ८ सय, ५ सय दरका ५१, १ सय दरका १ सय ४६ र ५० रूपैयाँ दरका १ सय २ थान नेपाली नोट बरामद भएको छ ।

प्रहरीले साहको साथबाट बरामद भएको ८ लाख ४७ हजार रूपैयाँको स्रोत नखुलेको जनाएको छ । स्रोत नखुलेको रकमसहित मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिइएको जानकारी एसपी कटवालले दिए ।
यस विषयमा रानीका इन्स्पेक्टर कवीन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिहेको छ । बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।