विराटनगर । तिहारको उल्लासमय वातावरणबीच हिजो राति विभिन्न टोलटोलमा बालबालिका, युवायुवती र महिलाहरुले भैलो खेलेर पर्व मनाए । भैलोको धुन र नाचगानसँगै टोलमा उत्सवमय माहोल देखिएको थियो ।

आज भने देउसी खेल्ने क्रम सुरु भएको छ । बिहानदेखि नै देउसी खेल्ने समूहहरुले तयारी थालेका छन् । साँझ पर्नासाथ देउसी गीत गाएर, नाचगान गर्दै घरघरमा पुग्ने तयारी भइरहेको स्थानीयले बताए ।

पर्वको अवसरमा देउसी भैलो खेल्ने क्रममा सुरक्षाको ध्यान दिन र मर्यादित तरिकाले रमाइलो गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । साथै, राति दस बजेपछि देउसी भैलो नखेल्न प्रशासनले निर्देशन दिएको छ ।


