विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सुरक्षात्मक तयारी सुदृढ पार्ने उद्देश्यले आईतबार संयुक्त कफ्र्यु पूर्व तयारी अभ्यास गरिएको छ ।
विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम परिसर र वडा नं ३ मा रहेको प्रदेश प्रमुखको निवास अगाडि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब ४० जना सुरक्षाकर्मीहरुको सहभागितामा अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा कफ्र्यु लागू हुनु अघि अपनाइने सुरक्षा व्यवस्थापन, समन्वय प्रक्रिया र आकस्मिक अवस्थाको प्रतिकार उपायबारे संयुक्त अभ्यास गरिएको जनाइएको छ ।
सुरक्षासम्बन्धी तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको सो अभ्यासले विभिन्न निकायबीचको सहकार्य र समन्वय सुदृढ गर्ने अपेक्षा गरिएको छ । स्थानीय प्रशासनका अनुसार, यस्तो संयुक्त अभ्यासले आपतकालीन अवस्था वा कफ्र्यु लागू हुने सम्भावित अवस्थामा सुरक्षाकर्मीहरूको तत्परता र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
