विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाको अवसर पारेर सोमबार दण्ड प्रणाम यात्रा गर्दैछन् । उनको यो दण्ड प्रणाम यात्रा २८ औं पटक हो ।
विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहेका पराजुलीको यो धार्मिक अनुष्ठानपूर्वक भक्तिभावसँग सबै नतमस्तक छन् ।
तर, पछिल्ला दिनमा उनी धार्मिक महत्व बोकेको पर्वमा राजनीतिक नारा घुसाएर समाजमा आपूmसँग केन्द्रीत गर्न व्यस्त देखिन्छन् । पछिल्लो २० वर्षयता उनले हिन्दू राष्ट्रको कामना गर्दै छठको पूजाका लागि दण्ड प्रणाम यात्रा गरिरहेको दावी गरेका छन् । तर, उनले यो नारा लगाउन थालेको २०७४ सालपछि मात्रै हो । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, लोक कल्याण, विश्व शान्ति र धर्म रक्षाका लागि छठको व्रत बसेर दण्ड प्रणाम यात्रा गरेको उनले सञ्चारमाध्यममा प्रतिक्रिया दिएका छन् ।
३२ वर्षयता छठको व्रत बस्दै आएका छन् । उनले २८ औं पटक दण्ड प्रणाम यात्रा गरेको बताए । विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सुरु गरेको दण्ड प्रणाम यात्रा सिंघिया खोलामा राखिएको पूजा स्थलसम्ममा पुगेर समापन हुनेछ । यो दुरी तीन किलोमिटर रहेको छ ।
विराटनगरका विभिन्न जलाशयमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने छ । यो परम्परागत रुपमा चलिआएको आस्थाको पर्व छैठको विशेषता नै हो । कसैले मनोकांक्षा पुरा होस् भन्ने हेतुले दण्ड प्रणाम यात्रा गर्दै घरबाट घाटसम्म समर्पण भाव प्रकट गर्दछन् । सर्वसाधारणले गर्ने उस्तै प्रकारको दण्डप्रणाममा खासै वास्ता नभएपनि विशिष्ठ ओहोदामा पुगेका व्यक्तिले गर्नुलाई विशेष मान्ने चलन अझै रहँदै आएको छ ।