विराटनगर । भदौ २४ को हिंसात्मक प्रर्दशनपछि काठमाडौंस्थित चुच्चेपाटी, सुनसरीको धरान र मोरङ विराटनगरको भाटभटेनी सुपरमार्केटमा १२ जनाको शव भेटिएको थियो । यी शव डेढ महिनादेखि प्लाष्टिकमा पोको पारेर राखिएको छ, तर पहिचान खुल्न सकेको छैन ।
जलेको मानव कंकालको पोस्टमार्टम र डीएनए परीक्षण भएको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार शव बारे दावी गर्न आफन्त आएका छैनन् । चुच्चेपाटीमा भेटिएका ७ वटा शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । धरानमा ४ र विराटनगरमा १ शव भेटिएको थियो । पाँच शवको डीएनए परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।
चुच्चेपाटीस्थित भाटभटेनीमा फेला परेका कंकाल त्रिवि शिक्षण अस्पतालमा ७ वटा प्लास्टिकका पोकामा छन् । अस्थिपञ्जर मात्र फेला परेको र मृत्युको कारणसमेत खुल्न सकेको छैन । पूर्णतः जलेका शवमाथिको दावी परिवार, आफन्तले गर्नसक्ने स्थिति छैन । त्यति मात्रै नभई आफन्त हराएको भनेर रिपोर्ट गर्न आउने पनि कम छन् ।
सुनसरीमा भने चारवटा शव फेला परेका छन् । जसमध्ये एकजनाले आफन्त हराएको भन्दै खोजी गर्न निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार धरानमा फेला परेका ४ वटा शवको पनि पहिचान हुन सकेको छैन । आफन्त परेको भनेर एक जनाका परिवार आएपनि त्यो कुन शव हो भनेर यकिन भएको छैन । एउटा शवको दाबी गर्न आए पनि रिपोर्ट नआउँदा पुष्टि हुन सकेको छैन ।
व्यक्तिगत घर र निजी भवनमा जलेर देशभर २० जनाभन्दा बढीको मृत्यु भए पनि अन्यको पहिचान खुलेपछि पोस्टमार्टम गरी परिवारले शव बुझिसकेका छन् । कोटेश्वर भाटभटेनी, ललितपुरस्थित एक निजी घर, काठमाडौं थानकोटस्थित एक निजी व्यापारिक भवन, कास्की र चितवनमा व्यक्तिका घर र भवनमा जलेर प्रर्दशनकारीको मृत्यु भएको प्रहरीको तथ्यांक छ । व्यक्तिका घर र भवन जलाउने क्रममा ती घटना भएका प्रहरीले जनाएको छ ।
भुल सुधार : यस अघि समाचारमा सुनसरीको धरान हुनु पर्ने स्थानमा इटहरी भएको थियो।