विराटनगर कार्तिक २२ ,
भारतको बिहार विधानसभा आमनिर्वाचन–२०२५ लाई लक्षित गर्दै अररिया जिल्लास्थित भारत–नेपाल जोगबनी सीमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। यसबारे नेपाली प्रशासनसँग समेत सहमति भएको सूचनामा जनाइएको छ।
अररिया जिल्लाका जिलाधिकारी र पुलिस अधिक्षकले संयुक्त रूपमा जारी गरेको आदेशअनुसार २०२५ नोभेम्बर ८ (कात्तिक २२) बलुका ६:१५ बजेबाट सीमा बन्द गरिनेछ। सीमा सिल गर्ने निर्णय आगामी नोभेम्बर ११ (मंगलबार) हुने मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन गरिएको हो।
आदेशमा उल्लेख छ, “आपतकालीन सेवा वा अत्यावश्यक कारणबाहेक सीमा पार गर्न अनुमति दिइने छैन, अनुमति आवश्यक परे सम्बन्धित निकायको जाँचपछि मात्र दिइनेछ।”
सीमा सिल अवधिभर अररिया, फोर्बिसगन्ज, नरपतगञ्ज, जोकिहाट, सिकटी र पलासी लगायतका विधानसभा क्षेत्रहरूमा सुरक्षा निगरानी कडा पारिने जनाइएको छ।
स्थानीय प्रशासनले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।