काठमाडौं। विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब खेलकुद क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ। कम्पनीले नेपाल प्रिमियर लिग (NPL) मा सहभागी टिम चितवन राइनोज सँग सहकार्य गर्दै कनेक्टिभिटी पार्टनर बनेको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख साञ्चलन अधिकृत डा. आशिष खड्काले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरे। नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३, २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ। यस संस्करणमा राष्ट्रिय खेलाडी कुशल मल्ल चितवन राइनोजका मार्की खेलाडीका रूपमा रहेका छन्।
कार्यक्रममा बोल्दै श्रेष्ठले भने, “हामी खेलकुदसँग सुरुदेखि नै जोडिएका छौं। खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी सामाजिक जिम्मेवारीको कुरा हो। इन्टरनेटले जस्तै खेलकुदले पनि मानिसहरूलाई नजिक ल्याउँछ, सम्बन्ध बलियो बनाउँछ। यही सोचका साथ हामी निरन्तर खेल क्षेत्रलाई साथ दिइरहेका छौं।”भायानेटले स्थापना समयदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) को महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ। यसअघि कम्पनीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र कर्पोरेट क्रिकेट लिग दुबैको टाइटल स्पोन्सर बनेको थियो।
त्यस्तै, चर्चित फुटबलर **सावित्रा भण्डारी ‘साम्बा’**लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो।चितवन राइनोजसँगको यस सहकार्यमार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेलप्रेमीहरूलाई एकै नेटवर्कमा जोड्ने सेतुको रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।