विराटनगर । विराटनगर–५ बाट प्रहरीले बुधबार साँझ एउटा सवारीमा पिआर ट्रेडर्स नामको पाँच बोरा खुर्सानीको धुलो नियन्त्रणमा लियो । भन्सार छलेर भित्र्याएको पाइएपछि विराटनगर–६ स्थित ट्रेडर्सको गोदाममा पुग्यो । बिएफएम नजिक घर भएका प्रविन चोप्राले प्रहरीलाई आफ्नो सामान भएको स्वीकार गरे । अनि सामानको भिसिटिएस समेत काटिएको दावी गरे । प्रहरीले भिसिटिएस गरिएको सामान भनेपछि थप केहि बोल्न सकेन । राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जानकारी गरायो । अनि , गोदाममा ताला लगाएर फर्कियो ।
प्रहरीले नियन्त्रणमा लिएको कागजातमा भ्याट बील पनि थियो । तर, बीलमा उल्लेख गरेभन्दा बाहेकको सामान समेत गोदाममा थियो । त्यसका आधारमा बिहीबार राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलिले चोप्राको पिआर ट्रेडर्सको कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । कार्यालयका प्रमुख राजस्व अनुसन्धान अधिकृत प्रेम राईका अनुसार कागाजातबाट कारोबार अध्ययन गरेर गोदाममा रहेका मालवस्तुको यकिन गरिनेछ ।
कागजात र गोदाममा भएका मालवस्तुको विवरण मिलान नभएमा उनीमाथि राजस्व छलीको मुद्दा दर्ता गर्ने तयारी गरिनेछ । चोप्राले फिल्डमा खटिएका नेपाल प्रहरीलाई भने अलिक हप्कीदप्की गर्ने शैलीमा कुरा गरेको आरोप छ । प्रहरीले चोप्राको सामान ओसार पसार गर्ने साधन बारे खुलाएको छैन ।