विराटनगर । विराटनगरमा रहेको अरनीको कलेजमा अध्ययनरत ११ जना विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् । जसमा ओपेन्द्रकुमार यादव, शुभम अग्रिया, दीक्षान्त भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, ऋषभ सोनी र निराजन यादव रहेका छन् । उनीहरुलाई कलेजले शनिबार विहान एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने अनुक्रम काफ्ले र काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ तर्फको प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्ने नितेश कुमार श्रेष्ठलाई कलेजले सम्मान गरेको छ ।
यसैगरी कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ । कक्षा १२ को प्रथम त्रैमासिक परीक्षामा प्रथम हुने मञ्जिला ओझा, द्वितीय प्राञ्जल नेपाल र तृतीय सुजन राजवंशी रहेका छन् । यसैगरी कक्षा ११ तर्फ प्रथम नितिश कुमार गुप्ता, श्रेयन खड्का, द्वितीय विवेक गुप्ता र तृतीय प्रिन्सप्रशान्त साह भए । उनीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पाए।

कार्यक्रममा बोल्दै एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्ने सुशान्त दाहालले लगनशील भएर अध्ययन गर्दा सफलता मिलेको र यसको श्रेय कलेजलाई जाने बताए ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीहरूले प्रत्येक वर्ष एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्न सफल भएको बताए। सबैभन्दा बढी एमबीबीएस र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्न सफल अरनीको कलेजका विद्यार्थी भएको कार्कीले बताए ।
सम्मानित भएका विद्यार्थीहरूलाई कदरपत्र र दोसल्ला ओढाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, कोअर्डिनेटर विकास खनाल, संचालकहरू भरतराज दाहाल, डा.भविन्द्र निरौला, शैलेशकुमार झा र निलम अधिकारीले गरेका थिए ।
