विराटनगर । विराटनगरको न्युरो कार्डियो एण्ड मटिस्ल्पेशियालिटी हस्पिटलले आफ्नो स्थापनाको २५ औँ वर्ष (रजत जयन्ती) को अवसर पारेर भारतको प्रतिष्ठित अमृता हस्पिटलसँग सहकार्य सुरु गरेको छ । स्वास्थ्य सेवालाई थप गुणस्तरीय, विश्वसनीय र आधुनिक बनाउने उद्देश्यले भारतको हरियाणा (दिल्ली
एनसीआर) स्थित अमृता हस्पिटलसँग सहकार्य गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सहकार्यभएसँगै कोशी र मधेश प्रदेशका नागरिकले जटिल प्रकारका रोगको उपचारमा सहज पहुँच पाउने दाबी अस्पतालले गरेको छ। न्युरो अस्पतालका अनुसार दुई अस्पतालबीचको सहकार्यले विशेषगरी क्यान्सरको उपचार, अंग प्रत्यारोपण तथा रोबोटिक सर्जरी जस्ता जटिल उपचारका लागि नेपाली बिरामीहरूलाई ठूलो राहत मिल्ने अस्पतालले जनाएको छ ।

न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले यो सहकार्यले अस्पतालको सेवा विस्तारमा नयाँ आयाम थप्ने र बिरामीहरूले स्वदेशमै वा आवश्यक परेको खण्डमा भारतमा गएर सहज रूपमा स्तरीय उपचार पाउने वातावरण बन्ने जानकारी दिए ।
यसैविच न्युरो अस्पतालले शुक्रबार ‘न्यूरोलोजी’ (टाउको तथा नशा) र ‘पल्मोनोलोजी’ (फोक्सो तथा दम) विषयमा ‘कन्टिन्युइङ मेडिकल एजुकेशन’ कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा अमृता हस्पिटलका वरिष्ठ न्यूरोलोजिष्ट प्रा.डा.सञ्जय पाण्डे र वरिष्ठ विशेषज्ञ डा.सौरभ पाहुजाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा कोशी र मधेश प्रदेशका ६० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो।

यसैगरी, शनिबार अस्पतालले निःशुल्क ओपिडी क्याम्प सञ्चालन गरेको छ। शिविरमा अमृता हस्पिटलका डा। पाण्डे र डा। पाहुजासहित न्युरो अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा। वीरेन्द्र कुमार विष्ट र डा। सुनन्द पौडेल लगायतको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।