विराटनगर मंसिर २१,
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलबीच आज सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रम र प्रेस मिटअप न्युरो अस्पतालमा आयोजना गरिएको थियो। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको तर्फबाट अस्पताल निर्देशक प्रा. डा. अशोक कोइराला र अन्कोलोजी विभागका प्रमुख प्रा. डा. भोला प्रसाद रौनियारले हस्ताक्षर गर्नु भएको थियो भने न्युरो अस्पतालको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराई र अस्पताल प्रवन्धक सुरेश कुमार आचार्यले हस्ताक्षर गर्नु भएको थियो।
समझौता अनुसार, दुवै अस्पतालले विरामीको उपचारमा सहजता र प्राथमिकता सुनिश्चित गर्ने, चिकित्सक र स्वास्थ्यकर्मीको सीप विकास तालिम सञ्चालन गर्ने, साथै नियमित मेडिकल शिक्षा, कार्यशाला र अभिमुखीकरणमा पनि सहकार्य गर्ने जनाइएको छ।
नोबेल अस्पतालका सञ्चालक डा. शर्मा अनुसार, न्युरोमा उपचाररत विरामीलाई क्यान्सर सम्बन्धी परामर्श र आवश्यक उपचारका लागि नोबेल अस्पतालसँग समन्वय गरिनेछ। विशेष गरी अति विपन्न १० जना विरामीलाई रेफरका आधारमा रेडिएसन उपचार निःशुल्क प्रदान गरिनेछ।
डाक्टर शर्माले यो सहमतिले विरामीलाई भरपर्दो, सहज र सहुलियतपूर्ण उपचार सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका संरक्षक डा. सुनिल कुमार शर्मा, न्युरो अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्टसहित दुवै अस्पतालका पदाधिकारी, चिकित्सक र कर्मचारीहरुको उपस्थिति रहेको थियो।