विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा प्रदेशस्तरीय यू–१३ ३x३ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता “Mini BBA Fest 3.0” पुस १५ गते (डिसेम्बर ३०) विराटनगरस्थित डिएभी स्कुलको बास्केटबल कोर्टमा आयोजना हुने भएको छ। प्रतियोगिताले प्रदेशभरका विद्यालयका विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै बास्केटबललाई आधारभूत तहदेखि प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहका १६-१६ टिम सहभागी हुने अपेक्षा गरिएको छ। फिबा ३x३ नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट विद्यालयस्तरका टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत खेलाडीमा अनुशासन, टोली भावना, खेलभावना र स्वस्थ जीवनशैलीको विकासमा योगदान पुग्ने विश्वास लिइएको छ।
आयोजकका अनुसार प्रतियोगितामा ५ सयभन्दा बढी विद्यार्थी, अभिभावक र खेलप्रेमी दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ, जसले स्थानीयस्तरमा खेलकुद माहोल थप उत्साहजनक बनाउनेछ।
प्रतियोगिताले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्याउने लक्ष्य लिएको छ।
विराटनगर बास्केटबल एकेडेमीले प्रतियोगितालाई सफल बनाउन विभिन्न संघ–संस्था तथा प्रायोजकसँग सहकार्यको अपेक्षा गरेको छ। प्रतियोगिताको संयोजक बरदान शाहका अनुसार यस किसिमका प्रतियोगिताले समुदायस्तरमा खेलकुद संस्कार विकास गर्दै बालबालिकाको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।