विराटनगर । सार्वजानिक सेवा प्रवाहका कार्यालयमा सेवाग्राहीलाई झुक्यानमा पारेर रकम असुल्ने गरेको आरोपमा २९ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सेवाग्राही पनि नहुने र सेवा प्रवाह गर्ने व्यक्ति पनि नभई पनि जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगरमा कार्यरत लेखापढीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनीहरुमाथि सेवाग्राहीले आरोप लगाएका छन् । आरोपमा सेवाग्राहीको काम सहजीकरण गर्ने बहानामा मोरङका प्रमुख जिल्ला अधिकारीलाई रकम बुझाउनु पर्ने भन्दै असुल गर्ने गरेको भन्नेछ । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालले जिल्ला प्रशासन कार्यालय मोरङबाट ९ जना र मालपोत कार्यालय विराटनगरबाट २० जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइन् ।
उनीहरुमाथि लागेको आरोपका आधारमा अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । खासगरी जिल्ला प्रशासन कार्यालय र मातपोत तथा नापीमा बिचौलिया बिना जाँदा कर्मचारीले नै काम गरिदिदैनन् । अदालतमा समेत यस्तै समस्या हुने गरेको छ । कर्मचारीसँगको सेटिङमा बाहिर लेखापढी व्यवसायीको रुपमा रहेकाहरुले सेवाग्राहीसँग रकम असुल्ने र काम फत्ते गराउने चलन नै बसाईसकेका छन् । कर्मचारीले समेत कुनै नागरिक सेवा लिन जाँदा टारेर दिन बिताउने शैली अपनाउने गरेका छन् ।
यस पटक भने पैसा बिना कामै निकाल्न नसक्ने सेवा प्रवाहका कार्यालय जिल्ला प्रशासन र मालपोतका लेखापढीलाई नियन्त्रणमा लिइएको छ । उनीहरु विरुद्ध मुद्दा चल्ने स्थिति रहेको नरहेको प्रहरीले यकिन गरिरहेको बताएको छ ।