इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको हत्याप्रति सरकार गम्भिर नभएको भन्दै सहिद फैजान संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ । अहमदको हत्या भएको दुई महिना वितिसक्दा पनि अझै अपराधि पक्राउ गर्न नसकेकोले समितिले आन्दोलन घोषणा गरेको हो । समितीले जारी गरेको विज्ञप्ती अनुसार मुस्लिम समुदायले पटकपटक आफ्ना २ बुँदे मागहरु राखेको भएता पनि सरकार यस विषयमा मौन रहेकोले आफुहरु थप आन्दोलन गर्न बाध्य भएको उल्लेख छ ।
समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार आज शनिवार साँझ विराटनगर, रंगेली र डाइनियामा मसाल जुलुस निकालिने र आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्मको १ दिने चक्काजाम गर्ने भएको छ । चक्काजाम शनि मन्दिर, नेमुवा, कर्सिया, कदमाहा, डाइनिया, विराटचोक, रामजानकी चौक र रानीमा गर्ने भएको छ । आफ्ना मागहरु पुरा नभए आफुहरु थप कडा संघर्षमा उत्रने समितिका संयोजक साहाब अहमद (गुड्डु)ले बताए ।