विराटनगर । देशभर भोलि पुस १५ गते गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार श्रद्वा, उत्साह र उल्लासका साथ मनाईदै छ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्षको रुपमा मनाउने ऐतिहासिक तथा सांस्कृतिक पर्व हो ।
यस अवसरमा नेपाल सरकारले तमु ल्होसारको सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको जारी सुचना अनुसार उक्त दिन सरकारी कार्यालय, सार्वजनिक संघ सस्था तथा शैक्षिक संस्थाहरु, बैंक तथा वित्तीय कार्यालय र शेयर बजार पनि बन्द रहनेछ ।

तमु ल्होसारका अवसरमा गुरुङ समुदायले परम्परागत नृत्य, संगित तथा सांस्कृतिक कार्यकममार्फत नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । यसेै विच यता विराटनगरमा रहेका गुरुङ समुदायले यसपटकको तमु ल्होसार पर्व ( त ल्हो) घोडा वर्ग पर्वको अवसरमा विविध कार्यक्रम गरी मनाउने तयारी गरेकोे छ ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी, विराटनगरले सोमबार विहान खुला सडक दौड प्रतियोगिता गरेको छ भने साँझ महेन्द्र चौकमा दिपप्रजवलन गरेको छ । यसैविच भोली विराटनगरको हाटखोलामा भव्य कार्यक्रम गर्ने तयारी गरेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी, विराटनगरका सचिव राजेश गुरुङले जानकारी दिए ।
