प्रेम देवान
विराटनगर । विराटनगरमा जारी विराट ट्रेड एक्स्पो २०८२ अन्तर्गत भएको सांगीतिक साँझ कार्यक्रममा गायक डिके सागरको ऊर्जावान प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ । विराटनगर १ स्थित शान्ति चौकमा गत पुष ९ बाट जारी विराट ट्रेड एक्स्पोमा मंगलबार साँझ गायिका मेलिना राई र डिके सागरको मुख्य आर्कषण रहेको थियो ।

त्यसैगरी विराटनगरको द स्मृति व्याण्डले सुरुवाति चरणमा विराटनगरका आम दर्शकको मन जितिरहेका थिए भने गायिका मेलिना राईको प्रस्तुतिमा पनि उतिकै दर्शकहरु झुमेका थिए ।

धरानकी मेरिना तुम्सा लिम्बु र झापा दमकका चेतनसिंह बस्नेतले कार्यक्रम हेर्न पुगेका दर्शकहरुलाई साँगितिक माहोलमा झुम्ने बाताबरण बनाएका थिए ।
साढे ८ बजेपछि मञ्चमा उक्लिएका डि के सागरले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै माहोललाई पूर्ण रूपमा सांगीतिक उत्सवमा रूपान्तरण गरे ।

सागरले एकपछि अर्को हिट गीत गाएपछि दर्शक नाच्न, गाउन र मोबाइलको क्यामेरामा क्षणहरू कैद गर्न व्यस्त देखिए। युवादेखि परिवारसहित आएका दर्शकसम्मले उनको प्रस्तुति खुलेरै साथ दिएका थिए । उनीसँग फोटो र सेल्फी खिच्न दर्शकहरु आतुर देखिन्थे । डिके सागर आफ्ना ४ दाजुभाईसँग एक्स्पोमा आएका थिए ।

आफ्ना दाजुभाईहरुको परिचय दिदै भने, ‘हामी एउटै आमाको कोखबाट जन्मिएका ४ जना दाजुभाई हौँ , यसरी हामीसँगै हिड्न पाउँदा एकदमै खुशी छौँ ।’ कार्यक्रममा साना नानिबाबुहरुले पनि उनको गीत स्टेजमा गएर गीत गाँउदै साथ दिए भने, कतिपय उनका फ्यानहरुले फोटो पनि स्केच गरेर दिएका थिए । उनले अन्तममा मञ्चबाटै दर्शकसँग प्रत्यक्ष संवाद गर्दै सागरले विराटनगरप्रति आफ्नो माया र समर्थनप्रति धन्यवाद व्यक्त गरे ।
मोरङ उद्योग व्यापार संघले मनोरञ्जनलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गरिएको विराट ट्रेड एक्स्पोमा सांगीतिक कार्यक्रमले थप आकर्षण बढाएको छ । यसैविच आज एमयु फेशन शो सँगै परिवर्तन व्याण्डको प्रस्तुती रहने मञ्च व्यावस्थापन संयोजक राहुल भटट्टराईले जानकारी दिए ।



