विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल अगाडिका १४ वटा फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग (डिडिए) विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गरेको छ ।
विगत ३ दिनदेखी आवर विराटनगरले नावेल बाहिरको फार्मेसीको ठगीबारेमा समाचार प्रकाशन गर्दै आए थियो । त्यस लगत्यै नियामक निकायले चासो देखाउदै शुक्रबार आकस्मिक अनुगमनको क्रममा ७ वटा फार्मेसीमा शिलबन्दी समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग (डिडिए) विराटनगरको संयुक्त टोलीले अनुगमनका क्रममा गम्भीर लापरबाही भेटिएपछि ७ वटा पसलमा तत्काल ताला लगाइएको हो। औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काका अनुसार शिलबन्दी गरिएका फार्मेसीहरूमा सीताराम फार्मेसी, छिन्नमस्ता फार्मेसी, धनगढी माई मेडिकल, सुसंस्कृति फार्मेसी र आविष्कार फार्मेसी रहेका छन्। अन्य दुई फार्मेसीको नाम पनि प्रक्रियागत रुपमा सार्वजनिक गरिने विभागले जनाएको छ।
अनुगमनका क्रममा ती फार्मेसीहरूले बिना दर्ताका विदेशी औषधि बिक्री वितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिहरू राखेको र बिरामीको स्वास्थ्यमा गम्भीर खेलबाड हुने गरी अन्य अनियमितता गरेको पाइएको सूचना अधिकारी खड्काले जानकारी दिए।
‘विभिन्न संचारमाध्यमहरुमा फार्मेसीले बिरामी ठगेको समाचार सार्वजनिक भएपछि प्रशासन र विभागले यसलाई गम्भीर चासोको रुपमा लिएको थियो,’ सूचना अधिकारी खड्काले भने, ‘समाचारकै आधारमा गरिएको अनुगमनका क्रममा अधिकांश फार्मेसीहरूले मापदण्ड पालना नगरेको र बिरामी ठग्ने गरेको पुष्टि भएपछि हामीले शिलबन्दी गरेर थप अनुसन्धान सुरु गरेका छौँ।’