विराटनगर। सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर निवासी दलित समुदायका सत्यनारायण साफीलाई अरनिको आवासीय माध्यमिक विद्यालयले सम्मान गरेको छ। चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ गते लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि विद्यालयले मंगलबार आफ्नै परिसरमा उनलाई नगद ५१ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो।


सम्मान कार्यक्रममा अरनिको आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश कार्कीले सत्यनारायण साफी निरन्तर मेहनत, संघर्ष र सफलताको एउटा ऐतिहासिक उदाहरण बनेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रगति गर्दै जान शुभकामना व्यक्त गरे।
सम्मान ग्रहण गर्दै सत्यनारायण साफीले अरनिको विद्यालय परिवारप्रति आभार व्यक्त गरे। उनले पढाइका क्रममा विद्यालयका शिक्षक–शिक्षिकाको निरन्तर सहयोगले आफू यहाँसम्म आइपुगेको बताए। विराटनगरका अन्य विद्यालयहरूले भर्ना नलिएको अवस्थामा अरनिको कलेजले आफूलाई अध्ययनको अवसर दिएको स्मरण गर्दै एमबीबीएससम्म पुग्न कलेजको ठूलो भूमिका रहेको उनले बताए।

दलित समुदायका सत्यनारायण साफीको परिवारको सम्पत्तिका नाममा साढे चार धुर जग्गामा बनेको घर मात्र छ। उनका बुबा मधुरी साफी तीन वर्षअघिसम्म वैदेशिक रोजगारीमा थिए भने हाल गाउँमै मजदुरी गर्दै आएका छन्। परिवारमा आमा, तीन छोरी र दुई छोरा छन्। जेठा छोरा सत्यनारायणले २०७७ सालमा गाउँकै जनता माध्यमिक ९प्राविधिक० विद्यालय, बरियारपट्टीबाट एसईई उत्तीर्ण गरेका थिए।

एसईईमा राम्रो अंक आएपछि उनले २०७९ सालमा विराटनगरस्थित अरनिको विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। त्यसपछि एमबीबीएस पढ्ने सपना बोकेर २०८० सालमा तयारीका लागि काठमाडौं पुगे पनि आर्थिक अभावका कारण दुई महिनामै गाउँ फर्किन बाध्य भए।
गाउँ फर्किएपछि उनी आमाबुबासँगै निर्माण क्षेत्रमा मजदुरी गर्न थाले। दुई वर्षसम्म मजदुरी गर्दै उनले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काम र साँझ ६ बजेदेखि राति १२–१ बजेसम्म पढाइलाई निरन्तरता दिए। मजदुरीबाट आएको पैसाले किताब किनेर स्वाध्ययन गर्दै उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए।
सत्यनारायण भन्छन्, “गरिबी भए पनि लगनशीलता, धैर्य र समर्पणले जुनसुकै लक्ष्य हासिल गर्न सकिन्छ। मैले प्रयास गरेँ, सपना यथार्थमा परिणत भयो। यसको सबै श्रेय आमाबुबालाई जान्छ।”

उनले अझै पनि गरिबीका कारण धेरै विद्यार्थी पढाइबाट वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै सबैले शिक्षा पाउने व्यवस्था आवश्यक रहेको बताए। दलित समुदायका विद्यार्थीले अहिले पनि समाजमा छुवाछुत, भेदभाव र हेपाइको सामना गर्नुपरेको भन्दै यस्ता कुप्रथाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
आफ्नी आमाको अवस्थाबाट प्रेरित भएर डाक्टर बन्ने सपना देखेको बताउँदै सत्यनारायणले अध्ययन पूरा गरेपछि नेपालमै बसेर देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे। सम्मान कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा कलेजका कर्मचारीहरूको उपस्थिति रहेको थियो।