विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियल स्कुलले आफ्नो ३४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । बुधबार स्कुल परिसरमा आयोजित एक विशेष समारोहका बीच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि दाहालले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै नैतिक शिक्षाको खाँचो रहेको औंल्याए । उनले विद्यार्थीलाई असल नागरिक बनाउन संस्कारयुक्त शिक्षाले मात्र सम्भव हुने भन्दै यसतर्फ ध्यान दिन विद्यालय र अभिभावकलाई आग्रह गरे ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विभिन्न जातजातिका कला–संस्कृति झल्कने नृत्य तथा गायन प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको पनि विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षक, शिक्षाप्रेमी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
