विराटनगरमा तीस वर्षपछि खानेपानी आपूर्ति प्रणालीमा सुधार, छ महिनामा सकिदैछ काम

<span class='c1'>विराटनगरमा तीस वर्षपछि खानेपानी आपूर्ति प्रणालीमा</span> <span class='c2'>सुधार, छ महिनामा सकिदैछ काम</span>

विराटनगर । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिका क्षेत्रमा ५८ किलोमिटर दुरीमा नयाँ पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ। ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गरी आधुनिक वितरण प्रणाली स्थापना गर्न २ अर्ब २९ करोड रुपैयाँको आयोजना कार्यान्वयनमा रहेको छ। आयोजना अन्तर्गत विराटनगरका चार स्थानमा भण्डारण ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने थप १२ लाख लिटर क्षमताको नयाँ ट्याङ्की निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। नयाँ र पुराना ट्याङ्की गरी कुल भण्डारण क्षमता साढे ५२ लाख लिटर पुगेको छ।

नेपाल खानेपानी संस्थान विराटनगरका साइड इन्जिनियर विरेन्द्र कुमार यादवका अनुसार जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा सञ्चालन भइरहेको यस आयोजनाबाट करिब एक लाख नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ। निर्माणाधीन ट्याङ्कीबाट वडा नम्बर ४, ५, ६, ७ र ११ का बासिन्दा लाभान्वित हुनेछन्। उनले ट्याङ्की निर्माणको करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको र सम्झौताको म्याद सकिन अझै ६ महिना बाँकी रहेको जानकारी दिए। यही अवधिभित्र घरघरमा पानी पुर्‍याउने लक्ष्य राखिएको उनले बताए।

जापानी कम्पनी सिमिजु कर्पोरेसनले खानेपानी सुधार आयोजनाको काम गरिरहेको छ। ५८ किलोमिटरमध्ये हालसम्म ५० किलोमिटरमा नयाँ पाइप बिछ्याइसकिएको छ, जुन करिब ९० प्रतिशत प्रगति हो। पाइप बिछ्याउने र पुर्ने कामसँगै प्रेसर टेस्ट, हाउस कनेक्सन र इन्टर कनेक्सनको काम पनि सँगसँगै भइरहेको इन्जिनियर यादवले बताए। खनिएको सडकमा कालोपत्रे गर्ने कामसमेत अघि बढाइएको छ। आयोजना विराटनगर महानगरपालिकाको वडा नम्बर १ देखि १४ सम्म विस्तार भइरहेको छ।

हाल विराटनगर महानगरपालिकाभित्र खानेपानी संस्थानमार्फत १३ हजार घरधुरीमा पानी वितरण भइरहेको छ। नयाँ आयोजनाबाट एक लाख नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ। यसबाहेक उपभोक्ता समितिमार्फत पनि खानेपानी वितरण भइरहेको छ। नयाँ प्रणाली अन्तर्गत विराटनगर–५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की तथा सोही स्थानमा साढे चार लाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्की निर्माणाधीन अवस्थामा छ। यसैगरी देवकोटाचौक, तीनपैनी र मुनालपथमा पनि १२–१२ लाख लिटर क्षमताका ट्याङ्की निर्माण भइरहेका छन्। यी स्थानमा तीन–तीन वटा डिप बोरिङबाट पानी निकाल्ने काम सम्पन्न भइसकेको छ।

आयोजना अन्तर्गत महानगरपालिकाका ३२ स्थानमा फायर हाइड्रेण्टसमेत जडान गरिएको छ, जसले आगलागीको समयमा पानीको सहज स्रोतको रूपमा काम गर्नेछ। विराटनगरमा खानेपानी सुधार आयोजनाका लागि जाइका ले सन् २००९ बाट अध्ययन सुरु गरेको थियो। हेपाटाइटिस महामारी फैलिएपछि खानेपानी सुधारमा राजनीतिक पहल तीव्र भएको थियो। अनुदान सम्झौता १० मार्च २०२२ मा भएको हो भने आयोजनाको शिलान्यास २०८१ असारमा गरिएको थियो। सम्झौता अनुसार २०८३ जेठ १७ गते ३१ मे २०२६ भित्र काम सम्पन्न गर्ने गरी २०८१ वैशाख १२ गते जापानी कम्पनी सिमिजु कर्पोरेसनसँग ठेक्का सम्झौता गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्