विराटनगर । परिवत्र्य विदेशी विनिमयको मुख्य मुद्रा अमेरिकी डलरमा भएको निरन्तरको मूल्यवृद्धिले उद्योगीलाई सताइरहेको बेला समय अगावैको निर्वाचनले अर्को तनाव बढाएको छ । विराटनगरका उद्योगीहरुले डलरका दर बृद्धि भइरहेको बेला निर्वाचनमा सहयोग माग्नेको फोनको रिङ्गले तनाव बढाइरहेको सुनाएका हुन् । नयाँ न पुरानो, चन्दा नमागिकन कसैले जित्लान् जस्तो छैन । उद्योगीहरुले अहिले धेरै फोन रिसिभ गर्न समेत छोडिसकेको बताएका छन् ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष पवन शारडाले दैनिक उपभोग्य वस्तुदेखि, निर्माणका सामाग्रीसम्ममा डलरको बृद्धिको प्रभाव छ । जसको असर उद्योगको उत्पादनमा छ । उद्योगले कच्चा ल्याउँदा बढन गएको मूल्य उपभोक्तासम्म पुग्नेछ । त्यसमा पनि भारतले वस्तु तथा सेवा कर (जीएसटी)मा लचक हुने गरी नयाँ बजेटमा राखेको प्रावधानको असर सीमा नाकामा पर्नेछ ।
डलरको मूल्यवृद्धिले कच्चासामग्रीको पनि मूल्य बढेका कारण उद्योगको लागत बढ्दै गएको हो । अमेरिकी डलरको मूल्यवृद्धिका कारण उद्योगको लागत कम्तीमा १० प्रतिशतले बढेको हो । उद्योगी शारडाका अनुसार विदेशी मुद्राको मूल्यवृद्धिसँगै आयातित कच्चापदार्थको मूल्य बढेको छ । त्यसको असर उद्योगमा पनि परेको हो । भन्सार विन्दुमा तिर्नुपर्ने भ्याट र भन्सार महसुल लगायतका राजस्व, ढुवानीखर्च, बीमामा समेत यसको असर पर्ने उद्योगीहरु बताउँछन् ।
डलरको मूल्यवृद्धिका कारण उद्योगको लागतमा वृद्धि भए पनि अत्यधिक प्रतिस्पर्धा र बजारमा मन्दीका कारण तयारी वस्तुको मूल्यवृद्धि गर्ने अवस्था छैन । स्टिल उद्योगले स्पन्ज आइरनमा मात्र एक महिनायता किलोको ७ रुपैयाँ मूल्यवृद्धि भएको छ ।
डलरको मूल्यवृद्धिको असर प्लास्टिकका वस्तुमा पनि परेको छ । प्लास्टिक वस्तुको मुख्य कच्चा पदार्थ प्लास्टिक दाना भारत र तेस्रो मुलुकबाट आयात हुने गर्दछ । वाग्मती मोल्डिङका सञ्चालक मनोज राठीले प्लास्टिकको एक कुर्सीको उत्पादन लागतमा एक महिनायता ३५ देखि ४० रुपैयाँले वृद्धि भएको बताए । राठीले भने, ‘प्लास्टिक कुर्सी भनेको मूल्यसूचीमा चल्ने उद्योग हो । अन्य वस्तुको जस्तो यसमा हरेक दिन मूल्यमा घटबढ गर्न सकिँदैन । त्यसैले अहिले पुरानै मूल्यमा विक्री गर्न बाध्य हुनुपरेको छ ।’
उनले तत्काल पुरानै मूल्य भए पनि केही समयपछि मूल्यवृद्धि अपरिहार्य भएको र यसको असर सर्वसाधारणमै पर्ने स्पष्ट पारे । राठीले एक महिनायता प्लास्टिक दानाको मूल्यमा किलोको ७ देखि १० रुपैयाँले वृद्धि भइसकेको उल्लेख गरे । डलरको मूल्यवृद्धिको असर प्याकेजिङ उद्योगलाई पनि परेको छ ।
यसैगरी प्रशोधित तेलका उत्पादनमा समेत यसको असर देखिएको छ । बजारमा दुई महिना अगाडी २३२ रुपिँया प्रतिलिटर रहेको सुर्यमुखी तेल अहिले २६२ रुपिँया पुगेको छ । दुई महिनायता प्रशोधित तेलको मूल्यमा लिटरको ३० रुपैयाँसम्म वृद्धि भइसकेको हो । डलरको मूल्यले तनावमा रहेका उद्योगीलाई निर्वाचनको दवाव समेत उतिकै रहेको सुनाउँछन् ।