विराटनगर । जेनजी आन्दोलनपछि देशभर सर्वाधिक चर्चामा कोहि छन् भने ती बालेन्द्र शाह (बालेन) हुन । उनी यस अगाडी काठमाण्डौंको प्रमुखमा स्वतन्त्रबाट निर्वाचित भए, दलहरुको विकल्प जोसुकै नागरिक पनि हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे । अहिले उनी राजनीतिक पार्टीका नेता हुन् । प्रतिनिधिसभा निर्वाचन २०८२, आगामी फागुन २१ गतेका लागि तोकिएको छ । त्यसमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रधानमन्त्रीको रुपमा अगाडी सारिएका छन् । संसदीय राजनीतिमा प्रधानमन्त्रीको उम्मेवार पहिल्यै घोषणा गरेर निर्वाचनमा भागे लिने नयाँ थालनी पनि भएको छ । त्यसका लागि उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।
हिजो स्वतन्त्र रुपमा निर्वाचित भएर उनले गरेका काम र अब राजनीति पार्टीमा आवद्ध भएर गर्ने कामदेखि हाउभाउ र कार्यक्रमले स्वभाविक दलगत जिम्मेवारी र प्रश्न उठाउँछ । कारण, त्यो दलमा तलदेखि माथिसम्म आवद्ध भएका कार्यकर्ताले गर्ने राम्रा र नराम्रा दुवै कामको जसअपजस उनीसँगै जोडिन्छ । अर्थात पार्टीको प्रमुख वा पार्टी भित्र रुचाइएका नेताको नाममा नै प्रशंसा र आलोचना जोडिन्छ ।
बुधबार उनी अकास्मात विराटनगर आए । निर्वाचनको माहौल बनाउन दलका नेताले कार्यकर्ता भेटघाट गर्ने र मतदाता आकर्षिक गर्ने काम लोकतन्त्रमा सामान्य हो । तर, उनी आउने कार्यक्रमको व्यवस्थापनमा पुराना राजनीतिक पार्टीका कार्यक्रम जस्तै भद्रगोल हुनु, सार्वजानिक सवारी आवागमन रोकिन पुग्नु, सडकमा जथाभावी सवारी पार्किङ्ग र हिँडडुलमा असजिलो हुनु अझै ट्राफिक प्रहरीमाथि ‘तेमेरुको दिन गए’ भन्नेसम्मका धम्की दिनुले ‘नयाँको हाल, पुरानै ताल’ भन्ने देखाएको थियो ।
विराटनगर–१ र ३ को सीमा क्षेत्रमा पर्ने गरी ठूलो मिल–पुष्पलालचौक सडक खण्डकोे फूटबल चौकको कार्यक्रम पनि त्यस्तै देखिन्थ्यो । बालेन आए, कार्यकर्तामा उत्साह भरे अनि फर्के । उनको कार्यक्रम सेड्युलमा नपर्दा पनि प्राथमिकता दिए तर समय दिएनन् ।
उनले समय दिएको भए सडकसँग नजिक रहेको घरमा स्थापना गरिएको पार्टी कार्यालयमा आउनेबाट पुरै जाम हुने थियो । पुराना दलले सडक छेकेर कार्यक्रम गर्दा सर्वाधिक आलोचना गर्ने नयाँहरु नै त्यहाँ देखिन्थे । अर्थात युवा जोस भएकाहरु, शैक्षिक तथा प्राज्ञिक व्यक्तिहरु, सामाजिक क्षेत्रमा क्रियाशिल रहेकाहरुको उपस्थितिको कार्यक्रम व्यवस्थापन पनि त्यहिस्तरको हुनु चाँहि नयाँ हुनु हो । परम्परागत र पुराना भनिएका दलहरुले आफ्नो मनमर्जीका गतिविधि गरे भनेर आलोचना गर्नेहरु नै अहिले नयाँ पार्टीमा आवद्ध देखिन्छन् । तर, उनीहरुले गर्ने कार्यक्रम चाँहि पुरानो दलको जस्तै भद्रगोल अनि दादागिरी शैलीको ।
हुन त हिजो काँग्रेस–एमालेमा ठूला स्वरमा नारा लगाउने, नेतृत्वमा बस्ने अनि राजनीति धुमिल बनाउनेहरुको लर्को राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको देखिन्छ । माहौलमा राप्रपा, फेरी माहौलमा काँग्रेस, अर्को माहौल एमाले परिवर्तनको माहौलमा माओवादी अनि अझै युवा माहौलमा रास्वपा बनेर एकै व्यक्तिले नारा लगाउन सक्ने सामर्थ त चानचुन मान्न सकिदैन । तर, राजनीतिक दलमा आवद्ध हुन पाउने व्यक्तिको स्वतन्त्रता भएपनि नयाँलाई नयाँ तरिकाले नै व्यवस्थापन गरिनु चाँहि परिवर्तन हुनु हो भन्ने बुझाई कार्यक्रमहरुमा कम देखिन्छ ।
फूटबल चौकमा बालेन हेर्न आउनेहरुले सडकको दुवै साइडमा मोटरसाइकल रोक्दा सवारी आवागमन असहज बनेको थियो । त्यहि ट्राफिक प्रहरीले यसो नगर्न कसैलाई भनेको सुनिन्थ्यो । त्यसबेला ट्राफिक प्रहरीलाई ‘जहाँ पनि हेप्ने’ अब धेरै हेपाई खाइदैन भन्नेसम्मको तागत सुनिन्थ्यो । जेनजी आन्दोलनबाट हच्किएका प्रहरीले बालेनको कार्यकर्ता भएको भनेर अफ साइड रोकिएको स्कुटर तथा मोटरसाइकल हटाउनु भन्दा आफैं हट्नु राम्रो माने ।
२०६४ सालमा पहिलो संविधानसभा निर्वाचनताका तत्कालिन विद्रोही माओवादीप्रति जुन आकर्षण देखिन्थ्यो, त्यसबेला पनि कसैले आलोचना गर्न हुँदैन भन्ने मनोभाव थियो । नागरिक कम बोलेरै पनि माओवादीको गोलाकारभित्रको हँसियाहथौडामा मत हालेर अनुभव लिन चाहन्थे । प्रहरी बोल्दैन थियो । अन्य राजनीतिक दल काँग्रेस–एमाले निम्जो भएजस्तो देखिन्थे । परिणाम त नयाँकै पक्षमा आयो, तर नागरिकले प्रश्न सोध्न ढिला गर्दा नतिजा चाँहि राम्रो आएन । अहिले जेनजी विद्रोहपछि बालेन आउँदा लहर छ तर प्रश्न सोध्न अनि आलोचना गर्दा उल्टै खप्की खानुपर्ने कुराले परिणाम आएपनि नतिजा कमजोर बनाउन सक्ने संभावना उतिकै देखिन्छ । त्यसैले पुरानो दल भित्र देखिएको प्रवृत्तिगत समस्या नयाँ दलमा भित्र्याउने की रुपान्तरण गर्ने भन्ने बहस पनि सँगै चल्नुपर्ने विराटनगरको कार्यक्रमबाट देखिन्छ ।