विराटनगर । प्रजातन्त्र दिवसको अवसर पारेर सामाजिक सेवामा सक्रिय बाउ समूहले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहीबार बिहान विराटनगर बसपार्क क्षेत्रमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विराटनगर–९ का वडा अध्यक्ष विश्वनाथ भगत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको बाउ समूहका अध्यक्ष प्रसान्त पौडेलले जानकारी दिए।
कार्यक्रमको उद्देश्य प्रजातन्त्र दिवसलाई सामाजिक सेवामूलक कार्यमार्फत अर्थपूर्ण बनाउनुका साथै आकस्मिक उपचारका लागि आवश्यक रगतको आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याउनु रहेको आयोजकले जनाएको छ।
