उन्मुक्त कलम–६
यो लेख एउटा विकट यात्राको एक टुक्रा संस्मरण मात्र हो, जुन यात्राका लागि हामी काठमाडौँदेखि हिँडेका थियौँ । हाम्रो टोलीका अधिकांश सदस्यहरू भारतीय थिए । धेरै गुजरातका थिए, कोलकाता थिए, मुम्वईका थिए । पुरुष र महिला सरावरी जस्तै थिए । कोही कोही धनाढ्य नै थिए होलान् र त घमण्डी थिए । यात्रा गराउने एजेन्सीले थ्री स्टार होटलमा राखेकोमा काठमाडौँबाट हिँड्दै उनीहरूमा गुनासो थियो । तीर्थयात्रीलाई खाना बनाउने, खुवाउने, सामान बोकिदिने टोलीमा सत्र जना शेर्पाहरू थिए र म एउटा नेपाली यात्री थिएँ । काठमाडौँबाट हिँड्न ढिलो भएको थियो, एजेन्सीको योजना तातोपानीमा बास बसाउने रहेछ । हामी चढेका बसहरू काठमाडौँ खाल्टोबाट निस्किएर वनेपा, धुलीखेल, पाँचखाल हुँदै बाह«वीसेको बाटो अगाडि बढे । कोदारी राजमार्ग हिँडेर हाम्रो टोली बास बस्ने ठाउँमा पुग्यो । माथि धेरैवटा गोमन सर्पको एकिकृत फँडा जस्तो चट्टानी भिर थियो र तल पछारिँदै आवाज निकालेर बग्दै गएको भोटेकोशी थियो । त्यही भिरको काख र भोटेकोशीको तीरमा रहेको तातोपानी बजार त्यो दिनको हाम्रो आश्रयस्थल थियो ।
ज्ञात रहोस्, मैले देखेको त्यो तातोपानी बजार अब त्यहाँ छैन किनभने २०७२ वैशाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाइसकेको छ । सुत्ने र खाने बन्दोवस्त एजेन्सीको थियो, र पनि गच्छे अनुसार र इच्छा अनुसार यात्रीहरूले जाडो मनाए । कसैले हार्ड ड्रिङ्स लिए, कसैले तोङ्वा र वियर बुत्याए । बिहान उठेर कोही मितेरी पुल हेर्न गए, कोही तातो पानीमा नुहाउन गए । काठमाडौँमा थ्रीस्टार होटलमा बस्नुपर्दा रिसले भुतभूत गर्ने महानुभावहरू कस्तामा बसेछन् भनेर चिहाएँ । एटेच वाथरुम भएको एउटा सामान्य कोठामा बढो सन्तोषका साथ बसिरहेका रहेछन् । र म पनि तातो पानीमा नुहाउन भनेर गएँ । सानो झोलामा तौलिया हालेको थिएँ र हातमा झुण्ड्याएर हल्लाउँदै जाँदै थिएँ । एउटा सोह«÷सत्र वर्षको केटो अगाडि आयो र भन्यो ‘टेन रुपिज प्लिज !’ म नसुने जस्तो गरेर अगाडि बढेँ, ऊ फेरि अगाडि आएर भन्यो ‘टेन रुपिज प्लिज !’ मैले हाँसो थाम्न सकिन र हाँस्तै सोधेँ ‘के को दश रूपैयाँ भाइ ?’ ए तपाईं नेपाली पो भनेर हाँस्तै केटो पनि दगुर्दै उसका साथीहरूसँग गयो र उनीहरू मरिमरी हाँस्न थाले । कुरा के रहेछ भने तातो पानीमा नुहाउनका लागि विदेशीसँग दश रूपैयाँ असुल गर्ने नियम रहेछ । दश बजेपछि हामी सबै मितेरी पुलतिर लाग्यौँ । हामीलाई लिएर गएका बसहरू बेलुकै फर्किसकेका थिए ।
यात्रुका सामान र खानपिनका सामान वोर्डर कटाउन एजेन्सीका मान्छे व्यस्त थिए । यता हामी मितेरी पुलदेखि नै लामको जाममा फसेका थियौँ । घाँटीमा क्यामेरा झुण्ड्याइएको छ, फोटो खिच्न पाइँदैन । चिनीयाँ पुलिसलले क्यामेरा खोस्छ है फोटो नखिच्नु भनिएको थियो । असारको दिन पुलमा चर्किएका घाम पिएर हामी बोर्डर पार हुने पर्खाइमा छौँ तर लाम अगाडि बढ्दैन । लाइन केही अगाडि बढ्यो, पुलको पल्लो छेउमा दायाँ बायाँ एउटा एउटा सिपाही बन्दुक समातेर उभिएका थिए । मभन्दा अगाडिको साथीले भन्यो यी त पुत्ला हुन् । मैले पनि हेरेँ ध्यानसँग, हो साँच्चै पुत्ला नै हो क्यारे अचल छ । ‘कस्तो ठ्याक्कै चिनीयाँ सेनाजस्तो’ भन्नै आँटेको थिएँ, एउटा पुत्लाको परेला हल्लिए । त्यो त पुत्ला हैन मान्छे नै रहेछ, कस्तो कडा तालिम होला । बोली व्यवहार हेर्दा चिनीया पुलिसहरू अलिकति पनि सोमत नभएका जस्तो लाग्यो । मान्छेलाई ठेल्ने, घचेट्ने, आँखा तर्ने र गाली गर्ने चलन रहेछ । लाग्थ्यो, उनीहरूका लागि त हामी मान्छेभन्दा तल्लो दर्जाका प्राणी हौँ । महिलाका लागि महिला पुलिसको कुरा गर्छौं हामी, उनीहरू आइमाईलाई हातै लगाएर ठेलठाल गर्न सङ्कोच नमान्ने । हामी पाँच धण्टामा बल्लबल्ल चीनको भूमिमा पस्न सक्यौँ अर्थात् विधिवत हाम्रो प्रवेश भयो । नरेन्द्र राठौर भन्ने मान्छेले दिल्लीबाटै हाम्रो लागि चीन प्रवेश गर्ने आज्ञा लिएर आएको थियो । यसको लागि पासपोर्ट पहिले नै पठाएका थियौँ हामीले । पारी गएर गन्ती गर्दा भारतीय यात्री ८३ जना, शेर्पा टोली १७ जना र म एक गरी १०१ जनामात्र थियौँँ । एक जना भारतीय यात्रीलाई तातोपानीकै होटलमा छोड्नुपरेको रहेछ ।
किनभने उसको प्रमाणले ६५ वर्ष पुगेको देखाएछ । ६५ वर्ष पुगेको व्यक्तिलाई मानसरोवरको यात्रा गर्ने इजाजत दिइँदो रहेनछ । हामी कैलाश मानसरोवर जान हिँडेका थियौँ । चिनीया भूमिमा पुगेपछि, हामीलाई बोक्न दुईवटा सुविधा सम्पन्न बस र जिप प्रकारका जापानिज गाडीहरू तयार थिए । चिनीया गाइड पनि तयार थियो । यो सबै बन्दोबस्त यात्राको परमिट लिँदै गरेको हुँदो रहेछ हाम्रो एजेन्सीले । अब ४० किलोमिटर उकालो चढेर ‘कुती’मा बास बस्नु पर्ने, हामी खासा बजार हुँदै, बाटोको जाम छिचोल्दै अगाडि बढ्यौँ । कतैकतै पूरै चट्टान खोपेर बनाइएका बाटा थिए, डरलाग्दा घुम्ती थिए र पनि ५०-६० किलोमिटरका दरले गाडी हुइँकिन्थे । हाम्रो यात्रा साँझमा कुती पुग्यो । ‘काशी जानु कुतीको बाटो’ भन्ने नेपाली उखानमा सुनेको कुती, देवकोटाको मुना–मदनमा पढेको कुती, म सशरीर त्यो ठाउँमा पुगेको थिएँ । आज त्यो ठाउँको नाम कुती हैन ‘नेलम’ हो । ३७५० मिटरको उचाइमा रहेको नेलम कैलाश मानसरोवर जाने यात्रुका लागि पहिलो वेसक्याम्प हो । सबै टोलीलाई यहाँ दुई रात बास नबसाई अगाडि लान मिल्दैन रे । यहाँ अक्सिजनको कमी छ, यहाँभन्दा माथि त झन रुख विरुवा केही छैन, ठूलो हुरी चल्छ तर अक्सिजनको कमी छ । त्यसैले यात्रुलाई यहाँ अभ्यस्त बनाएर मात्र अगाडि लानु पर्ने बाध्यात्मक नियम नै रहेछ । त्यसैले हामी पनि दुई रातका लागि कुतीको पाहुना भयौँ । अगाडि के हुन्छ हेर्दै जाऔँँला ।