विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नबिल बैंकको सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशीलता विद्यालय अन्तर्गत तीन महिने आठौँ ब्याचको तालिम कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आठौँ ब्याचका ६ जना सहभागीहरूले आफ्ना व्यवसायिक अवधारणाहरू प्रस्तुत गर्दै ‘पिच डेक’ प्रदर्शन गरेका थिए। प्रस्तुतकर्ताहरूमा रिचा बर्मा (फिजअप), अनिकेत ठाकुर (जर्नी टक्स), एल्सन पराजुली (न्युरा इनोभेसन्स), कृष साह (केएस – सोच तथा उच्च प्रदर्शन रूपान्तरण), अनुप्रास बिस्ट (किकी – जेनेरेशन जेड लक्षित हट सस ब्रान्ड) र दिप चन्द्र ओझा (युक्त एप्लिकेसन्स) रहेका थिए।
उक्त कार्यक्रमको सभापतित्व व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुख रबि रोकाले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिहरूका रूपमा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला, नबिल बैंकका प्रदेश प्रमुख प्रमोद केसी, क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव, नबिल बैंकका उपप्रदेश प्रमुख उज्ज्वल नेपाल, मोरङ व्यापार संघका सदस्य बिनित सिन्घानिया, आन्तरिक राजस्व कार्यालयका पूर्व सूचना अधिकृत हरि प्रसाद सेडाई लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा मेन्टरहरू डा. चन्द्र उपाध्याय तिम्सिना र धनञ्जय कुमार कर्ण, उद्घोष दैनिकका प्रबन्ध निर्देशक बिजय खतिवडा, व्यवसायिक प्रशिक्षक बिनय विष्णु केसी तथा चिनारी मिडियाकी सञ्चालक सीता थापा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रस्तुत गरिएका व्यवसायिक अवधारणाहरूलाई उपस्थित अतिथिहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार यस तालिमले युवाहरूमा सामाजिक उद्यमशीलता विकास गर्दै आत्मनिर्भर बन्न प्रेरणा दिने विश्वास लिइएको छ।