सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीले बिचौलियाले सेवा प्रवाहमा अवरोध गरेको सूचना प्राप्तपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले दुई कार्यालयबाट बिचौलिया पक्राउ गरिएको हो । सरकारी कार्यालयमा काम गरिदिने भन्दै सेवाग्राहीबाट पैसा असुल गर्ने १६ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनजंग बुढ्थापाले जानकारी दिए ।
बिहान यातायात व्यवस्था कार्यालयमा सवारी साधनको ब्लूबुक नविकरण गराईदिने र मालापोत कार्यालयमा जग्गा नामसारी तथा भु–सेवाका कार्यहरु गरिदिन्छु भनि सेवाग्राहीबाट रकम असुल गरेका १० जना महिला र ६ जना पुरुष गरी १६ जना बिचौलिया पक्राउ गरिएको उनले बताए । ‘सेवाग्राहीले गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ’ उनले भने ।
‘हामीलाई सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको सूचना आयो,’ उनले भने, ‘सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।’ उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरीले यातायात व्यवस्था कार्यालय सुर्खेतबाट वीरेन्द्रनगर–१ का दीपक बहादुर बि.क., वीरेन्द्रनगर–३ का इन्द्र बहादुर शाही, वीरेन्द्रनगर–१२ का प्रदिप खड्का, लेकवेशी नगरपालिका–३ का रमेश दमाई, वीरेन्द्रनगर–५का हरिप्रसाद देवकोटा र वीरेन्द्रनगर–१०का प्रभाकर शर्मा गौतमलाई पक्राउ गरिएको छ । त्यस्तै मालपोत कार्यालय सुर्खेतमा बिचौलियाको काम गरिरहेका वीरेन्द्रनगर–११ का रोशमी तिवारी, वीरेन्द्रनगर–३ की लक्ष्मी शाही, वीरेन्द्रनगर–१२ कि कुसुम बुढा क्षेत्री, वीरेन्द्रनगर– की पार्वती योगी, वीरेन्द्रनगर– ५ कि पवित्रा न्यौपाने, वीरेन्द्रनगर–११ कि दुर्गा शाही, वीरेन्द्रनगर–१३ कि सम्झना योगी, वीरेन्द्नगर–११ कि रोशनी शाही, वीरेन्द्रनगर–६ कि निर्मला योगी र वीरेन्द्रनगर–११ की गीता सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी बुढथापाले बताए ।