काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तिकरणको साधन मात्र नभई सामाजिक रूपान्तरणको आधारसमेत भएको बताएका छन् ।
शुक्रबार महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । ‘महिला उद्यमशीलता व्यक्तिगत आर्थिक शसक्तिकरणको साधन मात्र होइनन् । सामाजिक रुपान्तरणको आधार पनि हुन् । महिलाले उद्यम मार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्दछ,’उनले भने । उनका अनुसार नेपालमा महिला उद्यमशीलता केवल आर्थिक गतिविधिमा सीमित नरही सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक बनेको छ । यसले महिलालाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय सीपलाई बजारसम्म पु¥याउने र समग्र अर्थतन्त्रलाई मजबुत बनाउने आधार निर्माण गर्छ । उनले भने,‘नेपालमा महिला उद्यमशीलता आर्थिक गतिविधिमात्र होइन् । सामाजिक रुपान्तरण र राष्ट्रिय विकासको संवाहक पनि हुन् । यसले महिलालाई आत्मानिर्भर बनाउने स्थानिय सिपलाई बजारसम्म पुर्याउने र अर्थतन्त्रलाई मजबुद बनाउने आधार निर्माण गर्छ । स्वेदशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आन्तमानिर्भरता र राष्ट्रनिर्माण तर्फको प्रेरक कदम हो । नेपाली महिला उद्यमीको योगदान उल्लेखनीय छ ।’
उपराष्ट्रपति यादवले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आत्मनिर्भरता र राष्ट्रनिर्माणतर्फको प्रेरक कदम भएको भन्दै नेपाली महिला उद्यमीहरूको योगदान उल्लेखनीय रहेको धारणा राखे । आजदेखि सुरु भएको मेला २२ गतेसम्म सञ्चालन हुने छ । मेलामा विभिन्न जिल्लाका घरेलु ,साना तथा मझौला महिला उद्यमी ,व्यवसायी तथा निर्यातकर्ता सहित विभिन्न देशका महिला उद्यमीहरुको सहभागीता रहने छ । यस मेलामा जम्म १४० वटा स्टलहरु रहेका छन् । मेलामा हस्तकलाका सामानहरु जस्तैःप्राकृतिक रेसाजन्य वस्तुहरु,ढाका सामानहरु ,गलैचा,हाते कागनका सामानहरु ,जैविक खाद्य पदार्थ,स्वदेशी रैथाने खानेकुराका परिकारहरु,कृषिजन्य उत्पादन,जडिबुटीका सामानहरु ,विभिन्न मुर्तिहरु,गरगहना र सजावटका सामानहरु साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आकर्षक ढंगले प्रदर्शनीमा राखिएको छ ।