विराटनगर । विराटनगर हार्डवेयर संघको ५ औँ साधारणसभाबाट भानुभक्त पौडेल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् । शनिबार विराटनगरस्थित होटल रुविचमा सम्पन्न साधारणसभाले उनलाई नेतृत्वको जिम्मेवारी दिएको हो।

साधारणसभामा उद्योगी तथा समाजसेवी ताराचन्द खेतान प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको सुदृढीकरणमा हार्डवेयर व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले व्यवसायीहरू एकताबद्ध भएर अघि बढेमा आर्थिक विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै हार्डवेयर व्यवसायीहरूको हक, हित र अधिकारका लागि सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाए। उनले व्यवसायीहरूबीच सहकार्य, समन्वय र व्यवसायिक वातावरण सुधारमा जोड दिने बताए।

संघको नयाँ कार्यसमिति अनुसार प्रथम उपाध्यक्षमा कमल अग्रवाल, द्वितीय उपाध्यक्षमा देवी प्रसाद पोखरेल, महासचिवमा जितेश कोइराला, सचिवमा भरत खेतान र कोषाध्यक्षमा अनन्त निरौला चयन भएका छन्। त्यस्तै सदस्यहरूमा मणिराज प्रसाईं, गोविन्द अग्रवाल, अमित सिंघल, लक्ष्मीप्रसाद बराल, राजु श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद भट्टराई, मुकुल दाहाल, जीवन खड्का र राकेश अग्रवाल रहेका छन् । साधारणसभामा नयाँ बर्ष २०८३ सालको भित्ते कालेण्डर समेत सार्वजनिक गरिएकोे थियो ।