विराटनगर । विराटनगरमा स्याउको कारोबार गर्ने व्यापारीलाई अहिले व्यवस्थापन गर्ने चुनौनी थपिदो छ । चीनबाट स्याउ आयात गरेर भारतमा अवैध निकासी गर्दै आएका पूर्वका व्यापारीमाथि स्थानीय प्रशासनको सीमा कडाईले ढाड सेकिने स्थिति सिर्जना भएको हो ।
नेपालमा खपत हुने भन्दा बढी आयात गरेर खुल्ला सीमानाकाबाट भारत पठाउँदै आएका उनीहरुसँग अहिले सशस्त्र र नेपाल प्रहरीको सेटिङ चुकुल खुस्किएको छ । नयाँ सरकार बनेपछि सीमा क्षेत्रमा कडाई गरिएको छ । कडाईमा अहिले प्रहरी नै बढी क्रियाशिल देखिएका छन् । सरकार बनेपछि सीमा क्षेत्रबाट हुँदै आएको तस्करीमा निक्कै प्रभावकारी रोकथाम प्रयास भएको छ । यद्यपी ठूलो परिमाणमा हुने स्याउ तस्करीका लागि भित्रभित्रै सेटिङ भइरहेको समेत बताइएको छ ।
चाइनिज स्याउ आयात गरेर झापा, मोरङ र सुनसरीको खुल्ला सीमानाका हुँदै भारत पु¥याउँदै आएका व्यापारीलाई अहिले भने स्याउ व्यवस्थापन गर्नै हैरान छ । स्याउ भारत पठाउँन नसक्दा कुहिने स्थितिमा पुगको हो । वैधानिक आयात भएको स्याउको निकासी भने अवैधानिक हुँदै आएको थियो । सीमा क्षेत्रमा कडाई भएपछि त्यसको असर अहिले कोल्डस्टोरमा समेत देखिएको छ । विराटनगरमा तीनवटा मात्रै कोल्ड स्टोर रहेका छन् । जसको क्षमता भन्दा धेरै स्याउ आयात भएको छ । नेपाली बजारमा खपत हुनेभन्दा बढी स्याउ आयात गरेर भारतमा अवैध निकासी सिन्डिकेट प्रयोग हुँदै आएको थियो । त्यसमा सशस्त्र र नेपाल प्रहरीको राम्रो सेटिङ चल्ने गरेको थियो ।
विराटनगरको श्रीराम कोल्डस्टोरेजका सञ्चालक सुप्रिम रेग्मीले अहिले सिजन भएका कारण चाइनाबाट आयात भएको स्याउको चाप छ । विराटनगरमा श्रीराम कोल्डस्टोरेजसहित इष्टर्न कोल्ड स्टोर र ग्लोबल कोल्ड स्टोर रहेका छन् । यसमध्ये ग्लोबल कोल्ड स्टोरका सञ्चालक विजय जैसवाल चौधरी, आफ्नै विजय फ्रुटमार्फत फलफूलको कारोबार गर्दै आएका छन् । उनको भाइ गोपी चौधरी र छोरा राकेश चौधरीले कोल्डस्टोर चलाउँछन् । विराटनगर–४ इक्राही रिङ्गरोडमा खोलिएको यो कोल्डस्टोरबाट स्याउ सिधै भारत पुग्दै आएको थियो ।
एकान्तमा खोलिएको कोल्ड स्टोर अहिले स्याउले भरिएको छ । स्याउ कुहिने स्थितिमा रहेको हो । कोशी प्रदेशका तीन जिल्लाबाट यस अगाडी पनि स्याउ तस्करीसँग जोडिएका विषय सार्वजानिक हुँदै आएका थिए । तर, पछिल्लो समय सीमा क्षेत्रबाट हुने अवैध गतिविधिलाई पूर्ण निस्तेज गरिएको छ । त्योसँगै सीमापार बजारबाट एकसय रुपिँया भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियमलाई कडाई गरिएको छ ।
विराटनगरको सब्जिमण्डी तथा फलफूल थोक गुद्री बजार व्यवस्थापन समितिका सचिव अहमद साहेव गुड्डु मियाँका अनुसार चीनबाट आयात भएको स्याउले बजार छोपेको छ । यो चाइनाबाट स्याउ आयात हुने समय पनि मानिन्छ । मियाँका अनुसार आयातकर्तासँग अन्य सिन्डिकेट समूहले सीमा कटाएर स्याउ भारत पु¥याउने गर्दछन् । त्यसमा नेपाल र भारत दुवै देशका कारोबारी संलग्न हुने गर्दछन् ।
दुईवर्ष अगाडी झापाको कचनकवल गाउँपालिका–४ स्थित पूर्वी लोदावारी नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको बेला ५७१ कार्टुन सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको थियो । त्यस अगाडी २०७८ साल जेठ २९ गते राती सुनसरीको हरिपुरस्थित लाही नाकाबाट तीनवटा ट्रकमा एक हजार ३५० काटुर्न स्याउ बोकेर भारत पुगेका बेला नियन्त्रणमा परेका थिए ।
विराटनगरका एक व्यापारीका अनुसार अहिले त्यो स्थिति छैन । पछिल्लो १५ दिनयता सीमा क्षेत्रबाट स्याउ लैजान कारोबारीले मानिरहेका छैनन् । ती व्यापारीका अनुसार विराटनगरमा विजय फ्रुट र दिव्यानी इन्टरप्राईजेजले सबैभन्दा धेरै स्याउ आयात गरेका छन् । ‘कोल्डस्टोरको क्षमता दश कन्टेनर स्याउ स्टोर गर्ने पनि छैन, आएको छ ५० कन्टेनर’ व्यापारी भन्छन्–जसले आफ्नो रिक्समा स्याउ भारत पु¥याउँथे उनीहरु नै लान मानिरहेका छैनन् । दिब्यानी इन्टरप्राइजेजका सञ्चालक मुकेश चौधरीले स्याउको वैधानिक व्यापार चलिरहेको दावी गरेका छन् । उनी स्याउको कुरा गर्नासाथ तर्किन चाहेका छन् । विजय फ्रुटका विजय चौधरीसँग सम्पर्क हुन सकेन ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सीमा क्षेत्रमा अहिले दिन बिराएरै स्थानीय प्रशासनले नियमन गरिरहेको बताउँछन् । उनले सीमा क्षेत्रबाट हुने अवैध कारोबारमा पूर्ण रुपमा निस्तेज गरिदै गएको बताएका छन् । विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत विमलदेव साहले भन्सारबाट आयात हुने स्याउ निर्यात भएको अहिलेसम्म तथ्यांक छैन । तर, मूल्यका आधारमा पैठारी हुने उत्कृष्ट २० वस्तुको सूचिमा स्याउ पर्दै आएको छ ।