विराटनगर । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको असहजताले निर्माण क्षेत्र भने सुस्त छ । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले आइतबार अप्रत्याशित मूल्यबृद्धिले पूर्वाधार क्षेत्रमा नराम्रोसँग असर गरेको भन्दै छ महिना म्याद थप्न माग गरेको छ । पत्रकार सम्मेलनमा कोशीका अध्यक्ष जनसेवक भण्डारीले मूल्य समायोजन र म्याद थपलाई सरकारले सँगसँगै लैजानुपर्ने स्थिति रहेको बताएका हुन् ।
उनका अनुसार अहिले स्थानीय तह, प्रदेश र संघीय कार्यालयहरुका कुनैपनि पूर्वाधार योजनाको काम संभव छैन । ‘कालोपत्रे बाहेकका काम चाँहि अलिअलि गर्दै आएका थियौं, त्यहि पनि रोक्छौं’ अध्यक्ष भण्डारीले पत्रकार सम्मेलनमा भने–निर्माण सामाग्री खोलाको ढुंगागिट्टीदेखि, उद्योग सिमेन्ट–छड र आयात हुनुपर्ने अलकत्रा समेत महंगो भएपछि हाम्रो केहि लागेन ।

कोशी प्रदेशमा सबै प्रकारका सात हजार निर्माण व्यवसायी फम रहेका छन् । यी सबै फमले काम गर्ननसक्ने स्थितिमा पुगेको जानकारी कुनै न कुनै रुपमा दिइसकेको अध्यक्ष भण्डारी बताउँछन् । साना, मझौला मात्रै नभई ठूला आयोजनामा समेत खर्च व्यवस्थापन गर्न नसक्ने स्थिति आएकोले काम रोकिदै गएको छ ।
व्यवसायीका अनुसार इन्धनको मूल्यका कारण सम्झौता गरेका योजनामा प्रयोग हुने मेशिनरी उपकरण प्रयोगविहीन बनेका छन् । निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश मिश्रले सम्झौता भएका योजनाको म्याद थपेर सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।
महासंघ कोशीका उपाध्यक्ष केशर कुमार बुढाथोकीका अनुसार निर्माण क्षेत्रमा अत्याधिक मूल्यबृद्धि भएको भएपनि नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार मूल्य बढेको देखिदैन । राष्ट्र बैंकको मूल्य सूचकाङ्कका आधारमा मात्रै मूल्य समायोजन हुनुपर्ने हुन्छ । यस्तो स्थितिमा सरकारले दोस्रो मूल्य समायोजन मार्ग निर्देशिका जारी गर्नुपर्ने उपाध्यक्ष बुढाथोकीको भनाई छ ।
तीन महिना अगाडीसम्म विराटनगर बजारमा बिटुमीन (अलाकत्रा) मूल्य अभिबृद्धि करबाहेक ८३ रुपिँया प्रतिकेजी बिक्री हुँदै आएको थियो । अहिले एककेजी बिटुमीन भ्याटबाहेक १५५ प्रतिकेजी मूल्य पुगेको छ ।
विराटनगरमा बिटुमीनका आयातकर्ता किशोर अटलका अनुसार बढेको मूल्यमा समेत बिटुमीन ल्याउन सहज छैन । बजारमा बिटुमीन सकिदै गएको छ । पहिले इरानबाट समेत बिटुमीन मगाउने गरिन्थ्यो । अहिले त्यो संभावना छैन । भारतको मात्रै भरपर्दा प्रशस्त पाइएको छैन ।