काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् ।
थापाथलीस्थित वागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएका हुन् । आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेका थिए । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ । नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती बैशाख १२ गते खाली गराइ सकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत वस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैँ घर टहरा खाली गराउनुभयो । यसरी आफैँ घरटहरा खाली गराउने क्रम शनिवार विहानसम्म पनि जारी थियो । यो अवस्था देखेपछि स्थानीय प्रशासनले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरेको थियो । करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो । वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए । यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन् ।


यस ठाउँबाट सरेर अन्यत्र जानेहरुलाई महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेर घरबाट बाहिर सामान निकाल्न र बाहिर निकालिएका सामान उनहरुले भनेका ठाउँमा ओसार्न सहयोग गरेको थियो । यो प्रसुति गृह पछाडितर्फको भाग हो । वंशीघाट विश्व निकेतन विद्यालय पछाडि पर्छ । यहाँ १९६ घरटहरा छन् ।बागमती नदी खण्डको सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्ती अन्तर्गत वडा नं. ९ तर्फ १६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा थिए । यीमध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घरटहरा खाली गराइयो । वडा नं. ३१ तर्फ यस दिन राती ९ बजेसम्म भत्काउँदा केही भागको मात्र काम सकिएको थियो । १३ आइतबार गते बिहान मनोहरा क्षेत्रमा जनशक्ति, स्रोत साधन केन्द्रीत गरिएको थियो । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती भत्काउने क्रमसँग मध्यान्नबाट स्रोत साधन बाँडेर दिउँसो १ बजेदेखि वडा नं. ३१ जागृतिनगरका घरटहरा भत्काउन थालिएको थियो । आज जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ ।

