सोनु साह
विराटनगर । वर्षा सुरु भएसँगै विराटनगर महानगरपालिका लगायत देशभर लामखुट्टेको संख्या तीव्र रूपमा बढ्न थालेको छ। गाउँदेखि सहरी बस्तीसम्म लामखुट्टेको अत्याधिक वृद्धि भएपछि सर्वसाधारण दैनिक रूपमा समस्यामा परेको गुनासो गर्न थालेका छन्। हिले लामखुट्टेको संख्या निकै बढेको छ। यसले विशेषगरी बालबालिका, विद्यार्थी तथा वृद्धवृद्धामा विभिन्न रोगको जोखिम बढाएको छ। लामखुट्टेले सार्ने रोगहरू, विशेषगरी मलेरिया जस्ता संक्रमण फैलिने खतरा बढेको भन्दै अभिभावकहरू चिन्तित देखिएका छन्।
विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिलिप कुमार यादवका अनुसार महानगरले लामखुट्टे नियन्त्रणका लागि दुई तहमा काम गरिरहेको छ। “हामीले वर्षभरि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं। वडा–वडामा स्वास्थ्यकर्मीमार्फत स्थानीयलाई लामखुट्टेबाट सर्न सक्ने रोगबारे जानकारी दिइरहेका छौं,” उनले बताए।
उनका अनुसार घर वरिपरि पानी जम्नु, फोहोर व्यवस्थापन नहुनु र सरसफाइमा लापरवाही हुनु नै लामखुट्टे बढ्नुको मुख्य कारण हो। “पानी जम्ने स्थानमा लामखुट्टेले फूल पार्ने भएकाले उत्पादन बढ्छ,” यादवले भने, “त्यसैले घर अगाडि–पछाडि सफा राख्न र पानी जम्न नदिन सबैलाई आग्रह गरेका छौं।” यादवले लामखुट्टे नियन्त्रणका लागि धुवा )फगिङ) र केमिकल प्रयोग प्रभावकारी नभएको पनि बताए। “धुवा र केमिकलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ, त्यसैले यो दीर्घकालीन समाधान होइन,” उनले स्पष्ट पारे।
हाल महानगरमा औषधि छर्कने मेसिन बिग्रिएको अवस्थामा रहेको र त्यसको मर्मत प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिए। साथै थप एक मेसिन खरिदका लागि पहल भइरहेको जनाइएको छ। लामखुट्टे अत्याधिक बढेपछि वर्षमा एकपटक मालाथिन लिक्विड छर्किने गरिएको पनि उनले बताए।
विशेषगरी असार–साउन महिनामा लामखुटेको प्रकोप बढी हुने भएकाले महानगरले अभियान सञ्चालन गरी विभिन्न स्थानमा नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ।
स्वास्थ्य शाखाले सर्वसाधारणलाई दैनिक सरसफाइमा ध्यान दिन, पानी जम्न नदिन, शरीर ढाक्ने कपडा लगाउन र लामखुटेबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ। साथै कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।