वर्षासँगै डुबानको जोखिम, पूर्वतयारीमा जुट्यो विराटनगर महानगर

<span class='c1'>वर्षासँगै डुबानको जोखिम, पूर्वतयारीमा</span> <span class='c2'>जुट्यो विराटनगर महानगर</span>

सोनु साह
विराटनगर । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै वर्षापछि डुबानको समस्या झेल्दै आएको विराटनगर यसवर्ष भने विपद् पूर्वतयारीमा सक्रिय देखिएको छ। वर्षैनी सयौं घरपरिवार विस्थापित हुने समस्यालाई न्यूनीकरण गर्ने लक्ष्यसहित महानगरले विभिन्न कार्यक्रम अघि बढाएको जनाएको छ। विराटनगर महानगरपालिका विपद् व्यवस्थापन शाखाकी कमला निरौलाका अनुसार अहिले वडास्तरमा सुरक्षा तथा समन्वय बैठकहरू सञ्चालन भइरहेका छन्। उनका अनुसार बाढी, डुबान तथा पहिरोबाट बच्न जनचेतनामूलक कार्यक्रममार्फत स्थानीय बासिन्दालाई सचेत गराउने काम भइरहेको छ। “पहिलो चरणमा वडास्तरीय तयारीलाई बलियो बनाउँदै छौं, गत वर्षभन्दा क्षति कम गर्ने लक्ष्य छ,” उनले भनिन्।

यता, नाला तथा नहरको उचित सरसफाइ नहुँदा वर्षाको पानी निकासमा समस्या उत्पन्न भई सडक र घरसम्म पानी पस्ने गरेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार नियमित सरसफाइको अभावले पानी जम्ने समस्या झन् बढ्दै गएको हो। महानगरको सरसफाइ शाखा प्रमुख पुनम दाहालले भने वर्षालाई लक्षित गर्दै नाला सरसफाइ अभियान तीव्र पारिएको जानकारी दिएका छन् । “दैनिक रूपमा सरसफाइ भइरहेको छ, तर घरबाट निस्किने फोहोर नालामै फाल्ने प्रवृत्तिका कारण अवरोध सिर्जना भएको छ,” उनले बताइन्। साथै, नालामै रहेका बिजुलीका पोल र जीर्ण संरचनाले पनि पानी निकासमा समस्या ल्याएको उनले उल्लेख गरिन्। पुराना नालाको मर्मत कार्यसमेत बाँकी रहेको उनको भनाइ छ।

विगतमा विपद् व्यवस्थापनमा महानगर कमजोर रहेको भन्दै आलोचना हुँदै आएको छ। स्थानीय तह र प्रदेश सरकारबीच समन्वय अभाव रहेको आरोपसमेत लाग्दै आएको छ। यस विषयमा महानगरकी कार्यवाहक नगर प्रमुख शिल्पा निराला कार्कीले विपद् आउनुअघि र पछि अपनाइने सम्पूर्ण तयारी भइरहेको बताइन्। उनका अनुसार नाला सरसफाइदेखि उद्धार टोली तयारी, खाद्यान्न व्यवस्थापन तथा आवश्यक सामग्री संकलन कार्य अघि बढाइएको छ। “विपद् आइपरे तत्काल उद्धार र राहतका लागि टोली तयारी अवस्थामा रहनेछ,” उनले भनिन्।

विराटनगरमा विशेषगरी सिँघिया र केशलिया खोलाका कारण हरेक वर्ष डुबानको जोखिम हुने गरेको छ । नगरका विभिन्न वडा डुबानको चपेटामा पर्दछन् । सबैभन्दा बढी असर १२ र १६ नम्बर वडा प्रभावित हुने गरेको छ । यस वर्षको मनसुनलाई लक्षित गर्दै महानगरले गरेको पूर्वतयारीले डुबानबाट हुने क्षति कति घटाउँछ भन्ने अबको वर्षाले नै निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्