विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आइतबारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित होटल स्वागतमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नेपालको क्रिकेट विकास र प्रवद्र्धनमा कोशी प्रदेश सरकार सधैँ साथमा रहने बताएका छन् । उनले क्यानले ल्याउने नयाँ नीति तथा कार्यक्रम सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै विराटनगरमा भइरहेको साधारणसभाले नेपाली क्रिकेट क्षेत्रलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले नेपालको क्रिकेट अहिले अन्तर्राष्ट्रिय स्तरमै चर्चाको विषय बनेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालको क्रिकेटको चर्चा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि फैलिएको छ । यसलाई अझ मजबुत बनाउन सबै पक्षको साथ आवश्यक छ ।” कार्यक्रममा उनले नेपालमा भर्खर सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा कोशी प्रदेश सरकार पनि जोडिन चाहेको उद्घोष गरेका छन् । कोशी प्रदेशको पहिचान अर्ना भएकाले विराटनगरबाट प्रतिनिधित्व गर्ने विराटनगर किङ्स टोलीसँग आफूहरू तेस्रो संस्करणदेखि सहकार्य गर्न इच्छुक रहेको उनले बताए । उनले भने, भरसक टिमको नाम कोशी अर्नाज् राख्न पनि सुझाव दिए ।

मुख्यमन्त्री कार्कीले प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्नुपरे पनि प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै क्रिकेटलाई प्रदेशको पहिचान र युवासँग जोड्ने माध्यमका रूपमा अघि बढाउन चाहेको बताए । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सांस्कृतिक रूपमा समेत भव्य बनाइएको थियो ।

कार्यक्रममा राई समुदायको साकेला नृत्य तथा थारु समुदायको मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा क्यानसँग आवद्ध पदाधिकारी तथा क्रिकेट खेलाडीहरुको बाक्लो उपस्थिती रहेको छ । क्यानले पछिल्लोपटक २०८१ असोजमा साधारणसभा सम्पन्न गरेको थियो । त्यसयता साधारणसभा लगायत अन्य क्यानको आर्थिक पाटोसँग जोडिएका गतिविधी नगरेको भन्दै चौतर्फी प्रस्न उठ्दै आएको छ ।