रुपन्देहीको मधवलियामा स्थापित खाद्य उत्पादन कम्पनी यसोदा फुड्स ले गर्मी तथा मनसुन मौसमलाई लक्षित गर्दै आफ्ना विक्रेता र वितरकहरूलाई उत्पादनको गुणस्तर र सुरक्षामा विशेष ध्यान दिन सार्वजनिक अनुरोध गरेको छ।
कम्पनीले “जनहितमा जारी सन्देश” मार्फत अत्यधिक तापक्रम, अनुचित भण्डारण र ढिलासुस्तीपूर्ण वितरणका कारण उत्पादनको गुणस्तरमा असर पर्न सक्ने जनाएको छ। त्यसैले उचित भण्डारण, समयमै वितरण र गुणस्तर कायम राख्न सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरिएको छ।
कम्पनीका अनुसार नेपालमा उत्पादन गरिएका आफ्ना सामग्री २२ भन्दा बढी देशमा निर्यात भइरहेका छन्। “करेन्ट चाउचाउ” लगायत स्न्याक्स, चिज बल्स, स्टिक्स र पोट्याटो क्र्याकर्सजस्ता उत्पादनहरू आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छन्।
यसैबीच, पछिल्लो समय सामाजिक सञ्जालमा स्वदेशी उत्पादनलाई लक्षित गर्दै फैलिने भ्रामक दाबी र हल्लाप्रति उद्योग क्षेत्रले चिन्ता व्यक्त गरेको छ। कम्पनीले आफ्ना सबै उत्पादन कानुनी मापदण्ड तथा सरकारी परीक्षण पूरा गरेर मात्र बजारमा ल्याइने स्पष्ट पारेको छ।
उद्योग क्षेत्रका प्रतिनिधिहरूले प्रमाणबिनाका टिप्पणी र सामग्रीले उपभोक्तामा भ्रम सिर्जना गर्नुका साथै स्वदेशी उद्योगलाई नोक्सान पुर्याउन सक्ने बताएका छन्।