विराटनगर । मोरङको रंगेलीमा २०६६ सालदेखि शितभण्डार (कोल्ड स्टोरेज) स्थापनाको प्रयास स्थानीय सरकार बनेपछि सफल बनेको छ । नेपाली काँग्रेसका पूर्वसभापति तथा नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको प्रयत्न असफल बनेपनि रंगेली नगरपालिकाले लिएको पहल सफल उन्मुख बनेको हो । आर्थिक वर्ष २०६६\०६७ मा गान्धी तुलसी स्मारक चर्खा महागुठीको जग्गामा शीत भण्डारका लागि संरचना निर्माण भएपनि त्यो सञ्चालनमा आउन सकेन । यसको पहल स्वर्गिय गिरिजाप्रसाद कोइरुालाले गरेका थिए ।
रंगेली नगरपालिकाले सञ्चालन व्यवस्थापनमा व्यवसायिक लाभलाई प्राथमिकतामा राखेर ६०० मेट्रिकटनको कोल्ड स्टोरेज निर्माण गरेको छ । यसले भने यहाँका स्थानीय कृषक लाभान्वित हुने आसा राख्न थालेका हुन् । रंगेली नगरपालिका–७ का कृषक रामनरेश महतो उत्पादन भएका तरकारी तत्काल बिक्री गर्न नसक्दा त्यसबाट हुने नोक्सानी रोक्न कोल्ड स्टोरेजले सहयोग पुग्ने अपेक्षामा रहेको बताउँछन् ।
कोशी प्रदेश सरकार र रंगेली नगरपालिकाको लागत साझेदारीमा पाँच करोड लगानीमा नयाँ कोल्ड स्टोरेज निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकिय अधिकृत प्रदिपकुमार साहले जानकारी दिएका छन् । रंगेलीमा लामो समयदेखि कोल्डस्टोरेजको माग हुँदै आएको थियो । तर, विभिन्न कारणले बन्न नसक्दा यहाँका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले मूल्य पाउन सकिरहेको थिएन । रंगेली नगरपालिकाले अब परिणामउन्मुख नतिजा निकाल्न लागेको हो । नयाँ कोल्डस्टोरेज आगामी असारसम्ममा निर्माणका कार्य सम्पन्न भएर यसको सञ्चालन प्रक्रिया बढ्ने बताइएको छ ।
रंगेली नगरपालिकाका इन्जिनियर सुरज कुमार मण्डलका अनुसार यो कोल्ड स्टोर आधुनिक र व्यवसायिक ढाँचामा बनेको छ । जसलाई सञ्चालन गर्न सहज हुनेछ । पुरानो प्रविधिका कोल्ड स्टोरेज एउटा मात्रै हलमा मालवस्तु राख्ने गरी त्यसमा चिस्यान व्यवस्थापन गरिएको हुन्छ । त्यस्तो हुँदा अफ सिजनमा लागत बढ्न जाँन्छ । अर्थात, थोरै सामान भएपनि सिंगै कोल्डस्टोरेजलाई चिस्यान बनाइराख्नुपर्ने हुन्छ ।
तर, रंगेलीले तीन कम्पार्टमेन्टमा छ वटा अलगअलग चेम्बर बनाएको छ । जसमा क्षमता अनुसार भण्डारण गर्ने वस्तु अभाव हुँदा एउटा मात्रै चलाएर बाँकी बन्द गर्न मिल्नेछ । ६०० टन क्षमताको कोल्ड स्टोरेजको एउटा चेम्बरमा ५० टन क्षमता रहेको छ । थोरै सामान हुँदा एउटा मात्रै चेम्बरलाई चालु अवस्थामा राखेर बाँकीलाई रोक्न मिल्नेछ ।
प्रमुख प्रशासकिय अधिकृत साहका अनुसार स्थानीय किसानको माग अनुसार नै यसलाई निर्माण गरिएको हो । यसमा स्थानीय सरकारले किसानका उत्पादनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सक्ने सुविधा रहेको छ । त्यस बाहेक व्यवसायिक रुपमा प्रयोग गर्न समेत दिन मिल्नेछ । जस्तै तीनवटा चेम्बर मात्रै स्थानीय उत्पादनले भरिने अवस्था आएमा बाँकी तीन व्यापारिक वा व्यवसायिक हिसाबले पनि दिन मिल्नेछ । यस्तो हुँदा यसको सञ्चालन तथा व्यवस्थापनमा आर्थिक संकट कम पर्ने र किसानका उत्पादन स्टोरेज गर्दा लागत घट्ने संभावनालाई आंकलन गरिएको छ ।
कोल्ड स्टोरेज निर्माणका लागि सात करोड चार लाख चार हजार १३४ लागत अनुमान गरिएकोमा ४ करोड ९६ लाख ६६ हजार ४५८ रुपिँयामा ठेक्का व्यवस्थापन भएको इन्जिनियर मण्डलले जानकारी दिएका छन् । गत असार मसान्तमा यसको निर्माण सम्पन्न गर्नुपर्ने अवधी भएपनि निर्माण कम्पनी दाप्सा सिम्पाने जेभी चार्लीकोट दोलखाले एकवर्षको म्याद थप माग्दा ५० लाख लागत बढेको छ ।
कोल्डस्टोरेजमा रहेका ६ वटा च्याम्बरलाई तरकारी, कृषि उपज र फ्रुजन (स्विट कोर्न, मटर कोसा, फिङ्गर चिप्स) को जीवन अवधी बढाउन मिल्ने गरी राख्न मिल्नेछ । फ्रुजन चेम्बरप्रविधीयुक्त भएका कारण माइन ६ देखि ९ डिग्रीसम्मको तापक्रम व्यवस्थापन हुनेछ ।
रंगेलीमा २०६६÷२०६७ सालमा शीत भण्डार निर्माणका लागि बजेट व्यवस्थापन भएर काम थालिएको थियो । भारतीय दूतावासको सहयोगमा निर्माणका लागि तत्कालिन जिल्ला विकास समिति मोरङबाट महागुठीको खातामा रकम पठाइएको थियो । तर, संरचना बनेपनि त्यसको सञ्चालनको काम भएन । सम्झौता अनुसार महागुठीले हाल्नुपर्ने भनिएको रकम जुटाउन नसक्दा संरचना नै अलपत्र भएको थियो ।