विराटनगर जेठ ३० , विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा कक्षा ९ का करिब २०० विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरिएको छ। ईन्सियोर परियोजना, विराटनगर महानगरपालिका र सत्यनारायण विद्यालयको संयुक्त आयोजनामा सम्पन्न तालिमपछि विद्यार्थीहरूले आफ्ना उद्यम योजना प्रस्तुत गरेका हुन्।
तालिममा विद्यालयका शिक्षक विरेन्द्रप्रसाद राजवंशी र मुकुन्दराज ढकालले सहजीकरण गरेका थिए। उद्यम प्रशिक्षणका लागि युवा उद्यमी विवेक दाहाल, कानुन व्यवसायी विमर्श भट्टराई तथा इन्जिनियर सरोजकुमार शर्मा सहभागी भएका थिए।
कार्यक्रममा युवा उद्यमी विवेक दाहालले विद्यार्थीहरूलाई व्यवसाय योजना (बिजनेस प्लान) तयार गर्ने तरिकाबारे व्यावहारिक प्रशिक्षण दिएका थिए। तालिमपछि विद्यार्थीहरूले आफूले तयार पारेका विभिन्न उद्यम अवधारणाहरूको प्रस्तुतीकरण गरेका थिए।
यसैबीच, विद्यार्थीहरूले शुक्रबार विद्यालय परिसरमा आफ्ना व्यवसायिक अवधारणालाई समेटेर व्यावसायिक प्रदर्शनीसमेत आयोजना गरेका थिए। प्रदर्शनीमा विद्यार्थीहरूले सिर्जनशील र व्यवहारिक उद्यम आइडिया प्रस्तुत गर्दै उद्यमशीलता प्रति आफ्नो उत्साह देखाएका थिए।
आयोजकहरूले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र भविष्यमा स्वरोजगार तथा उद्यमतर्फ अग्रसर हुने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।