प्रेम देवान
विराटनगर । विराटनगर–११ निवासी ६४ वर्षीया मधु राई विगत १५ वर्षदेखि आफ्नै कौशी तथा करेसाबारीमा उत्पादन गरिएको अर्गानिक तरकारी सेवन गर्दै आएकी छन् । उनी आफूमात्र स्वस्थ जीवनशैली अपनाएर बसेकी छैनन्, छरछिमेकीलाई समेत जैविक तरकारी उत्पादन र सेवन गर्न प्रेरित गर्दै आएकी छन् । उनको घरको छत, कौशी र करेसाबारीमा विभिन्न मौसमी तरकारी तथा फलफूल लहरै फलेका भेटिन्छन् । परिवारका सदस्यहरूले पनि उनको अभियानलाई निरन्तर साथ दिँदै आएका छन् ।
मधु राईको एउटै उद्देश्य छ – “अब विषादीयुक्त तरकारी खानु हुँदैन ।”
उनी भन्छिन, “हामी बजारमा पाइने विषादीयुक्त तरकारी खाइरहेका छौँ । त्यसले विभिन्न रोग फैलाइरहेको छ । त्यसैले आफ्नै करेसाबारी र कौशीमा उत्पादन गरिएको जैविक तरकारी सेवन गर्नुपर्छ भन्ने सन्देश दिन मैले यो अभियान थालेकी हुँ ।”
जैविक खेतीप्रति बढ्दो आकर्षणसँगै उनले आफ्नै घरमा उत्पादन भएका तरकारीलाई साप्ताहिक रूपमा बिक्री वितरण गर्ने अभियानसमेत सुरु गरेकी छन् । मोरङको ग्रामथान–१ मिलनचोकस्थित हितकारी फार्ममा उत्पादन गरिएका अर्गानिक तरकारीसमेत ल्याएर उनले विराटनगर–१५ पिचरामा शनिबारदेखि साप्ताहिक अर्गानिक पसल सञ्चालनमा ल्याएकी हुन् ।

हरेक शनिबार बेलुकी साढे ४ बजेदेखि साँझ ६ः३० बजेसम्म सञ्चालन हुने उक्त साप्ताहिक पसलमा कौशी तथा करेसाबारीमा उत्पादन गरिएका विभिन्न जैविक तरकारी राख्ने गरिएको उनले बताइन् । अर्गानिक तरकारी खरिद गर्न पुगेकी स्थानीय बालकुमारी राईले यस्तो अभियान अत्यन्त सकारात्मक भएको प्रतिक्रिया दिइन् ।

उनले भनिन, “भारतबाट आउने विषादीयुक्त तरकारी खानुभन्दा आफ्नै बारीमा उत्पादन भएको ताजा तरकारी खानु राम्रो हुन्छ । यस्ता अभियानले सबैलाई सचेत बनाउँछ ।”
राई—को व्यवस्थापनमा सञ्चालन भइरहेको यो साप्ताहिक अर्गानिक पसलले अहिले स्थानीयबासीको ध्यान तानेको छ । स्वास्थ्यप्रति सचेत बन्दै गएका उपभोक्ताहरूले पनि जैविक तरकारीलाई रुचाउन थालेपछि उनको अभियान अझ उत्साहजनक बन्दै गएको छ ।