विराटनगर । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि र संगठनात्मक विषयमा छलफल गर्न कांग्रेसका असन्तुष्ट नेताहरूको कोशी प्रदेशस्तरीय बृहत् एकता भेला विराटनगरमा सम्पन्न भएको छ। भेलामा केन्द्रीय तहदेखि प्रदेश, जिल्ला, क्षेत्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी नेताहरूले यो कार्यक्रम पार्टी फुटाउन नभई कांग्रेसलाई थप एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउन आयोजना गरिएको स्पष्ट पारे।

नेपाली काग्रेस कोशी प्रदेशसभा सदस्य भुमि प्रसाद राजंवशीले पार्टीमा नयाँ नेतृत्व आउनु सकारात्मक भए पनि पुराना नेताहरूको योगदान र भूमिकाको सम्मान हुनुपर्ने बताए। उनले कांग्रेस निर्माणमा पुराना पुस्ताले गरेको त्याग, संघर्ष र बलिदानको उचित मूल्यांकन आवश्यक रहेको धारणा राखे। “हामी कुनै समूह होइनौं, कांग्रेसी हौं, गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्छौं, तर पुराना नेताहरूलाई पेल्ने वा उपेक्षा गर्ने काम हुनुहुँदैन,” उनले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नारायणप्रकाश साउदले कांग्रेस कमजोर बन्दै गएको भन्दै पार्टीलाई बलियो बनाउन एकताको विकल्प नरहेको बताए। उनले कांग्रेसभित्र रहेका सबै पक्षबीच सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गरे। नेता उमेशजंग रायमाझीले पार्टी नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले पछिल्ला केही गतिविधिले कार्यकर्तामा असन्तुष्टि बढाएको भन्दै कांग्रेसलाई बलियो बनाउन सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताए। “हामी गगन थापालाई स्वीकार गर्छौं, तर हामीलाई नेतृत्वले स्वीकार गरेको अनुभूति हुन सकेको छैन,” उनले भने। उनले आगामी १५औँ महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गरिने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाइने बताए।


भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी हाल अत्यन्त कमजोर अवस्थामा पुगेको भन्दै एकताको आवश्यकता औँल्याए। उनले कांग्रेसभित्र देखिएको विभाजनकारी प्रवृत्तिको अन्त्य गर्दै सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए। त्यस्तै डा। शेखर कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनले पछिल्लो समय पार्टीभित्र निरंकुश प्रवृत्तिको संकेत देखिएको उल्लेख गर्दै संगठनलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने बताए।
पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदारले कांग्रेसीहरू आफ्नै पार्टीभित्र डर र त्रासको वातावरणमा रहेको जस्तो देखिएको टिप्पणी गरे। उनले नेता–कार्यकर्तालाई नडराई आफ्नो धारणा राख्न आग्रह गरे।
यस्तै, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीभित्रको आन्तरिक कलह, व्यक्तिगत महत्वाकांक्षा र ‘म’ केन्द्रित प्रवृत्तिका कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए। उनले कांग्रेसको ८० वर्षे इतिहासमा अहिले जस्तो अन्योलपूर्ण अवस्था विरलै देखिएको उल्लेख गर्दै संगठनलाई पुनः मजबुत बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।
भेलाका वक्ताहरूले नेपाली कांग्रेसभित्र कुनै पक्ष वा गुटभन्दा पनि पार्टीको एकता, संगठन सुदृढीकरण र आगामी महाधिवेशनको सफलतामा केन्द्रित भएर अघि बढ्नुपर्ने साझा निष्कर्ष व्यक्त गरेका थिए। उनीहरूले संवाद, सहमति र सम्मानजनक सहकार्यबाट मात्रै कांग्रेसलाई पुनः बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सकिने बताएका छन्।