विराटनगर । जहदा गाउँपालिका–२ बिरपुर गाउँका स्थानीय मंगलबार घरघरबाट निस्केर विराटनगर आइपुगे । गाउँमा सुरु भएको एउटा सानो झगडा डढेलो झैं सल्किएपछि सन्थाल समुदायहरु एकिकृत भएर आफूहरु पीडित भएको गुनासो राख्न विराटनगर आएका हुन् । घटनाको पृष्ठभूमि चाँहि दाउ (दबिया) अर्थात फलामको हतियार हराएको प्रसङ्गबाट सुरु भएको छ ।
बिरपुर गाउँमा दुई छिमेक घर छन् ललिता हस्दा र मिरा साहको । नजिक रहेका दुई घरबीचको विवाद गत जेठ २२ गते मिरा साहको घरबाट दबिया हराएबाट भएको थियो । हराएको दबिया बारे उनले ललिता हस्दासँग चासो राखिन् । चासो राख्दा आफ्ना दुई दबिया देखाउँदै नभएको जवाफ दिइन् । त्यहिपनि मिरा साहले ललिताको घर प्रवेश गरेर दबिया खोजतलास गरिन् । यसपछि शंका गरेर घर तानतलास गरेको निहुँमा विवाद सुरु भएको थियो ।
यति धेरै विवाद भयो, एक अर्कामा हात हालाहालसम्म भयो । जसमा ६३ वर्षीया साहमाथि ललिताको समूहले कुटपिट गरेको भन्दै अभद्र व्यवहार मुद्दामा पक्राउ पूर्जी जारी भयो । साहका छोरा अरुण साह नेपाल प्रहरीका असई हुन् । आमासँग विवाद र झगडा भएपछि उनी घर आएका छन् । त्यसपछि जेठ २४ गते जिल्ला प्रशासन कार्यालयमा हस्दा विरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भइकन पक्राउ पूर्जी जारी भएको छ ।
पक्राउ पूर्जी जारी भएपछि बिरपुरका घरघरबाट निस्केर सन्थाल समुदायका अगुवाहरु मुद्दा खारेज हुनुपर्ने माग गर्दै मंगलबार विराटनगर आएका हुन् । पक्राउ पूर्जी जारी गरिएकी ललिता हस्दाले पत्रकार सम्मेलन गरेर आफ्नो समुदायमाथि नै आक्षेप लगाउने गरी गालीगलौज गरेको दावी गरेकी छिन् । उनको कुरामा समर्थन जनाउन जहदा गाउँपालिकाबाट झण्डै एकसय भन्दा बढी स्थानीय पत्रकार सम्मेलनदेखि जिल्ला प्रशासन कार्यालयसम्म जाने गरी आएका थिए । पत्रकार सम्मेलनमा उनीहरुले प्रहरीले एकतर्फी कुरा सुनेर पक्राउ गर्न लागेको गुनासो गरेका थिए ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईका अनुसार सबै मिलेर ६३ वर्षीया मिरा साहमाथि हातपात भएको थियो । त्यसपछि मुद्दा दर्ता गरिएको हो । पक्राउ पूर्जी जारी भएकोले ललिता हस्दालाई कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गरिने छ । उनीहरुले अहिले जुनशैली अपनाइरहेका छन्, त्यो आफ्नो कमजोरी लुकाउन गरिएको प्रहरी निरीक्षक राईको भनाई छ ।