मोरङको सुन्दरहरैँचा नगरपालिकामा महिलाहरूमा देखिने पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण तथा पहिचानका लागि सञ्चालित तीन दिने विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सुन्दरहरैँचा नगरपालिका–२, मिर्गौलिया तथा वडा नं. १२, इन्द्रपुरमा गत असार ८, ९ र १० गतेसम्म सञ्चालन गरिएको उक्त शिविर सफलतापूर्वक सम्पन्न भएको हो। कल्प एम्पावर वुमेन नेपालको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।
तीन दिनसम्म चलेको शिविरमा स्थानीय ४४८ जना महिलाले आफ्नो स्वास्थ्य परीक्षण गराउँदै सहभागिता जनाउनुभएको थियो। शिविरमा सहभागीमध्ये ३६८ जना महिलाको भीआईए (पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ) परीक्षण र ३५४ जनाको स्तन क्यान्सर परीक्षण गरिएको प्राविधिक टोलीले जनाएको छ।
परीक्षणका क्रममा चार जना महिलामा भीआईए (VIA) को नतिजा शङ्कास्पद देखिएको छ। ती महिलाहरूलाई रोगको समयमै पहिचान र थप निदानका लागि उन्नत परीक्षण एवं आवश्यक उपचारार्थ अस्पताल जान प्राविधिक टोलीले उचित परामर्श दिएको छ। ग्रामीण भेगका महिलाहरूका लागि आयोजना गरिएको यस प्रकारको स्क्रीनिङ शिविरले पाठेघरको मुख र स्तन क्यान्सरको समयमै पहिचान तथा रोकथाममा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।