विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने सूचना पाएपछि पेट्रोलियम व्यवसायीहरुले मंगलबार तेल लिएनन् । नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घट्ने सूचना शनिबार नै सोमबार नै हल्ला चलिसकेको थियो । त्यहि भएर मंगलबार दिनभर तेल लिन पम्प सञ्चालक तयार भएनन् । तर, मंगलबार पेट्रोलियम पदार्थ नलिदाँ बुधबार विराटनगरका बजारमा अभाव देखियो ।
विराटनगर कतिपय पेट्रोल पम्प बन्द राखिएका छन्। बढी मूल्यमा किनेर सस्तोमा बेच्नु पर्ने भन्दै उनीहरुले पेट्रोलियम पदार्थ नलिदाँ बुधबार अभाव देखिएको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीका प्रमुख पुष्कर कार्कीका अनुसार पम्पमा तेल नभएका सञ्चालकलाई अहिले अनुगमन गरेर कारवाही थालिएको छ । तेल नलिएर पम्पमा अभाव सिर्जना गर्ने बसपार्क एरियामा अहिले अनुगमन गर्ने कार्य थालिएको कार्कीले जानकारी दिएका छन् । उनले निगम परिसरमा अहिले भीडभाड बढेकोले वितरण हुने इन्धन गइरहेको उनले बताएका छन् । दिउँसो २ बजेबाट बजारमा सहज हुने उनले दावी गरेका छन् ।
पम्पहरू बन्द गरिएपछि डिजेल र पेट्रोल लिन पम्पमा पुगेका उपभोक्ताहरू रित्तै हात फर्किन बाध्य बनेका छन्। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ। मूल्य घटाइएपछि पम्प सञ्चालकहरूले “पेट्रोल, डिजेल छैन” भनेर बाहिर बोर्ड राखेर पम्प बन्द गरेका छन्। पम्प बन्द गरिएपछि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरिएको हो । तर, मूल्य बढ्ने पहिल्यै सूचना सार्वजानिक गरिएको विषय भने थप अनुसन्धान गर्नुपर्नेमा पर्दछ ।
यसैगरी विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर रु. १९४.५० तथा डिजेल प्रतिलिटर रु १९२.५० कायम गरिएको छ। भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य प्रतिलिटर रु १९४ तोकिएको छ।