विराटनगर । जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको संयुक्त आयोजनामा अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुर्याउने तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी, जीवन विकास सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी, सेवाग्राही तथा विभिन्न क्षेत्रका सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमबाट कुल ५४ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमले आकस्मिक तथा नियमित उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रक्तदान कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको भन्दै आयोजकले रक्तदान गर्ने सबै रक्तदाताप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि यस्ता सामाजिक, मानवीय तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै समुदायको सेवामा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।