जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित देवनारा ग्रुपको कार्यालय तथा ग्रुपका सञ्चालक बेनी गोपाल मुन्दडाको निवासमा आज बिहान खानतलासी गरेको छ।
प्रहरी टोलीले बिहानैदेखि कार्यालय र घरमा विस्तृत खोजतलास गरेको थियो। प्रहरीका अनुसार गैरकानुनी वस्तु लुकाइराखिएको भन्ने सूचनाका आधारमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिमा खोजतलासका क्रममा सूचना बमोजिम कुनै पनि गैरकानुनी सामग्री फेला नपरेको जनाएको छ।
साथै, घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले स्पष्ट पारेको छ। प्रहरीले अनुसन्धानको हितलाई ध्यानमा राख्दै यसबारे थप विवरण सार्वजनिक नगरेको जनाएको छ।