विराटनगर । पूर्व क्षेत्रको अग्रणी एवं प्रतिष्ठित स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले आफ्नो प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्न तथा सामुदायिक स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ आउटरिच र मानव संसाधन व्यवस्थापनका लागि छुट्टै, आधुनिक र सुविधासम्पन्न नयाँ कार्यालय भवन सञ्चालनमा ल्याएको छ। अस्पताल परिसरभित्र आयोजित एक विशेष समारोहका बीच अस्पतालका अध्यक्ष, प्रबन्ध निर्देशक एवं वरिष्ठ विशेषज्ञ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्ट ज्यू र कार्यकारी निर्देशक डा. अनिशा विष्ट ज्यूले औपचारिक रूपमा रिबन काटेर नयाँ कार्यालयको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा अस्पतालका अपरेसनल डाइरेक्टर श्री राजेश भट्टराई, हस्पिटल डाइरेक्टर डा. ऋतिक विष्ट, एकेडेमिक डाइरेक्टर एवं वरिष्ठ विशेषज्ञ अर्थोपेडिक सर्जन डा. नविन कुमार कर्ण, तथा मेडिकल डाइरेक्टर एवं वरिष्ठ विशेषज्ञ फिजिसियन डा. विवेक कट्टेलको गरिमामय उपस्थिति रहेको थियो। यसका साथै कार्यक्रममा अस्पतालका विभिन्न विभागका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू, विभागीय प्रमुखहरू, प्रशासनिक कर्मचारीहरू तथा नर्सिङ स्टाफहरूको उत्साहजनक सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै अस्पताल व्यवस्थापनले नयाँ कार्यालय स्थापनासँगै आन्तरिक जनशक्ति व्यवस्थापन थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरेको छ। आधुनिक कार्य वातावरणले कर्मचारीहरूको मनोबल बढाउनुका साथै दैनिक कार्यसम्पादन र उत्पादकत्वमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


यसैगरी, नयाँ भवनमा सञ्चालित आउटरिच विभागले दूरदराजका ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउने रणनीतिक योजना बनाएको छ। यस विभागमार्फत आगामी दिनमा नि:शुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, तथा विभिन्न संस्थाहरूसँगको सहकार्यलाई अझ तीव्र र व्यवस्थित रूपमा अगाडि बढाइनेछ।
सुदृढ आन्तरिक प्रशासन र विस्तारित सामुदायिक पहुँचले नै अस्पतालको सेवालाई जनताको घरदैलोसम्म पुर्याउन मद्दत गर्ने भन्दै अस्पताल नेतृत्वले गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको आफ्नो प्रतिबद्धता पुन: दोहोर्याएको छ। यो नयाँ प्रशासनिक संरचना सञ्चालनसँगै न्यूरो हस्पिटलले प्रदेश तथा समग्र देशकै स्वास्थ्य क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने लक्ष्य राखेको छ।