विराटनगर। युवा दिवसको अवसरमा मानिसलाई पनि एउटा खुला पुस्तकका रूपमा बुझ्दै उनीहरूसँग रहेको जीवनअनुभव, ज्ञान तथा विशेषज्ञता नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले विराटनगरमा ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ कार्यक्रम सम्पन्न भएको छ।
गोल्स फाउन्डेसन (वातावरण, शिक्षा तथा उद्यमशीलता) को आयोजना तथा एनवाईसीए विराटनगर र इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल, पूर्वाञ्चल विश्वविद्यालय च्याप्टरको सहकार्यमा बुधबार विराटनगरस्थित एलाइट क्लबमा एकदिने कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले आफ्ना संघर्ष, अनुभव र जीवनका कथाहरू युवामाझ प्रस्तुत गर्दै उनीहरूलाई प्रेरित गरेका थिए। कार्यक्रममा साहित्यकार सीमा आभास, वातावरण पत्रकार रामचन्द्र अधिकारी र वरिष्ठ पत्रकार अनन्तराज न्यौपाने वक्ताका रूपमा सहभागी थिए।
कार्यक्रमबारे जानकारी दिँदै गोल्स फाउन्डेसन की अध्यक्ष पूजा विश्वासले युवा दिवसको अवसर पारेर युवाहरूलाई पुस्तकका पानाबाट मात्र नभई मानिसका जीवनका अनुभवबाट पनि ज्ञान हासिल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
‘चिया सँग कथा’ कार्यक्रमलाई मानव पुस्तकालयको अवधारणामा आधारित गरिएको थियो। सामान्य पुस्तकालयमा पुस्तकका पाना पल्टाएर ज्ञान हासिल गरिने भए पनि यस कार्यक्रममा विराटनगरका युवाहरूले मानिसका जीवनका पाना पढ्ने प्रयास गरेका थिए। प्रत्येक मानिस आफैँमा एउटा खुला पुस्तक भएकाले उनीहरूको अनुभव र संघर्षबाट नयाँ पुस्ताले महत्वपूर्ण ज्ञान र प्रेरणा लिन सक्ने आयोजकको विश्वास छ।
कार्यक्रममा सहभागी वक्ताहरूले आफ्नो जीवनका विभिन्न अनुभव, संघर्ष र सिकाइका विषयमा युवाहरूसँग अन्तरक्रिया गरेका थिए। युवालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमले पुस्ताबीचको अनुभव आदानप्रदानमा समेत सहयोग पुगेको आयोजकले जनाएको छ।
अध्यक्ष विश्वासले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन्। गोल्स फाउन्डेसनले वातावरण, उद्यमशीलता र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दै आएको छ।