विराटनगर। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा ‘सातौँ विराटनगर बास्केटबल कप’ प्रतियोगिता बुधवारदेखि विराटनगरमा औपचारिक रूपमा सुरु भएको छ। सेन्ट जोसेफ स्कुलको प्राङ्गणमा आयोजित एक समारोहका बीच प्याब्सन विराटनगरका नगर अध्यक्ष अर्जुन श्रेष्ठले खेलाडीहरूलाई बास्केटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन भएको थियो।


साउन २७ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा २२५ भन्दा बढी विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको खेल संयोजक मुकेश यादवले जानकारी दिएब। अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घ (फिबा) को आधिकारिक नियमअनुसार 'होम एन्ड अवे' ढाँचामा खेलाइने यस प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधातर्फ गरी कुल ५८ भन्दा बढी प्रतिस्पर्धात्मक खेलहरू हुनेछन्।प्रतियोगिताको पहिलो उद्घाटनी खेलमा विकेभिएम स्कुलले विजयी सुरुआत गरेको छ। आयोजक सेन्ट जोसेफ स्कुलको गृह मैदानमा भएको खेलमा विकेभिएमले घरेलु टोलीलाई ४४–२१ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित निकाल्यो। खेलका चारै क्वाटर (४–६, १०–१२, ५–१३, २–१३) मा लगातार पकड बनाएको विकेभिएमका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेकी समृद्धि उपाध्या खेलको ‘म्यान अफ दि म्याच’ (उत्कृष्ट खेलाडी) घोषित भईन।
प्रतियोगितालाई थप रोमाञ्चक बनाउन सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। छात्रातर्फ समूह ‘ए’ मा शिक्षादीप, एभरेस्ट, एरागन र अरनिको परेका छन् भने समूह ‘बी’ मा सेन्ट जोसेफ, विकेभिएम र सगरमाथा रहेका छन्। त्यसैगरी, छात्रतर्फ विकेभिएम, कोबास, सगरमाथा र दिल्ली पब्लिक स्कुल समूह ‘ए’ मा रहेका छन् भने शिक्षादीप, अरनिको, एभरेस्ट र सेन्ट जोसेफलाई समूह ‘बी’ मा राखिएको छ।